२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

भानु माविमा कक्षा १२ का विद्यार्थीहरुलाई विदाई

बिहिवार , चैत्र ३०, २०७९

भैरहवा, ३० चैत ।
रुपन्देहीका् सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित श्री भानु माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ११ का विद्यार्थीहरुले कक्षा १२ को अन्तिम परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई बिहीबार (आज) विदाई गरेका छन् । कार्यक्रममा विद्यार्थीहरुलाई परीक्षामा सफलताको शुभकामना दिदै शैक्षिक प्रगतिको कामना गर्दै मायाको चिनोसहित वबदाई गरिएको हो । 

सो अवसरमा बोल्दै विद्यालयका प्रधानाध्यापक मोतिलाल सुवेदीले सामूदायिक विद्यालयतर्फ भानु मावि नगरमै उत्कृष्ट बिद्यालय भएको बताए ।  उनले गतवर्ष माध्यमिक शिक्षाको अन्तिम परीक्षा (कक्षा १२) को नतिजामा छात्रतर्फ प्रथम र द्वितीय तथा छात्रातर्फ पनि प्रथम र द्वितीय गरी चार जना विद्यार्थी नगरमै उत्कृष्ट हुन् सफल भएको बताए ।  गत वर्षदेखि कक्षा केजीमा अंग्रेजी माध्यमबाट अध्ययनअध्यापन सुरु भएको विद्यालयमा नयाँ शैक्षिक सत्रबाट कक्षा केजीदेखि १ र कक्षा ६ मा पनि अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन हुने उनले बताए । 

कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक महेश प्रसाद गुप्ता, शिक्षक दोचंद्र कुँवर मगर लगायतले बोल्दै विद्यार्थीहरुको शैक्षिक उन्नतिको साथै चौतर्फी विकासतर्फ पनि विद्यालय प्रतिबद्ध रहेको बताउँदै विद्यार्थीहरुको सफल भविष्यको कामना गरे ।  सो अवसरमा विद्यार्थीहरुद्वारा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । 

कक्षा ११ की छात्रा सकिना खातुनको अध्यक्षता, विद्यालयको प्रध्यानाध्यापक मोतीलाल सुवेदीको प्रमुख अतिथ्यता, विद्यार्थी प्रतिक्षा क्षेत्रीको स्वागत तथा अयुषा भट्टराई र सोनु गिरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।  

यसैबीच विद्यालयमा अध्यनरत विद्यार्थीहरुको वार्षिक परीक्षाको नतिजा सार्वजनिक तथा पुरस्कार वितरण कार्यक्रम समेत सम्पन्न भएको छ ।  कक्षा बाल विकासदेखि कक्षा ९ र कक्षा ११ मा अध्यनरत विद्यार्थीहरुको वार्षिक परीक्षाको नतिजा (परीक्षाफल) सार्वजनिक भएको विद्यालयका परीक्षा समितिका संयोजक दोचन्द्र कुँवर मगरले बताए ।  

result.jpg

परीक्षामा कक्षागत रुपमा प्रथम, द्वितीय तथा तृतीय हुन सफल विद्यार्थीहरुलाई विद्यालयका प्रधानाध्यापक सुवेदीले पुरस्कार वितरण गरेका थिए । पुरस्कार वितरण गर्दै प्रधानाध्यापक सुवेदीले सुविधासम्पन्न यस विद्यालयमा आगामी शैक्षिक सत्रको लागि २०८० वैशाख ३ गतेदेखि भर्ना कार्यक्रम सुरु हुने भएको सबै अभिभावकहरुलाई समयमै आफ्नो बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराउन आग्रह गरे ।