२०८२, चैत्र २१ गते

Apr 04 2026 | २०८२, चैत्र २१ गते

दुर्घटना न्यूनीकरण र सवारी व्यवस्थापनबारे चालकहरुलाई प्रशिक्षण

बुधवार , चैत्र २९, २०७९

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • बुटवल, २९ चैत । 
    सवारी दुर्घटनाबाट हुने मानवीय तथा अन्य भौतिक क्षतिलाई कम गर्न सकिने उपायहरु पत्ता लगाई व्यवहारमा लागू गर्न यातायात मजदूरहरुलाई अभिप्रेरित गर्ने उद्देश्यले प्रशिक्षण सञ्चालन गरिएको छ । तालिममा सिकाइएका कुराहरु व्यवहारमा लागु भए नभएको अनुगमन गर्न विशेष समिति निर्माण गरिने र स्थलगत अनुगमनले नियम उल्लंघन गर्ने चालकहरुलाई कारवाही समेत गरिने पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.ले जनाएको छ । 

    प्रा.लि.काअनुसार नेपालका सडकहरुमा भइरहने बढ्दो सवारी दुर्घटनाको न्यूनीकरण र यसबाट हुने मानवीय क्षतिलाई कम गर्ने उद्देश्यले बुटवलमा यातायात मजदूरहरुलाई तालिम सञ्चालन गरिएको  हो । नेपालमा दिनप्रतिदिन सवारीसाधनको संख्या र दुर्घटना बढ्दै गएकोले पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. बुटवलले विगतमा सञ्चालन गरेको आन्तरिक सवारी व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण प्रशिक्षण कार्यक्रम पुनः सुरु गरेको हो । 

    दुर्घटना न्यूनीकरणका लागि चालक तथा परिचालकहरुलाई अनुशासित र मर्यादित बनाइ धनजनको क्षति रोक्न सकिन्छ भन्ने उद्देश्यले तालिमको आयोजना सुरु गरेको आन्तरिक सवारी व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण प्रशिक्षण कार्यक्रमका संयोजक नारायण घिमिरेले बताए । चालक तथा मजदुरहरुलाई पेशाप्रति सचेत र जिम्मेवार बनाउने तथा यातायात क्षेत्रलाई मर्यादित र अनुशासित बनाई समाजमा सुरक्षित यात्रा सेवा प्रदान गर्न यो तालिम कोशेढुंगा सावित हुने घिमिरेको भनाइ छ । 

    यसप्रकारको तालिम निरन्तर रुपमा सञ्चालन गरिने बताउँदै संयोजक घिमिरेले समयसमयमा फिल्डमा पुगेर समेत अनुगमन गरिने र तालिममा सिकाइएका कुराहरु कार्यान्वयन नभएमा तत्काल कारवाही समेत गरिने बताए । त्यसका लागि चालक तथा परिचालक अनुशासित मर्यादित बन्ने सवारीचालक अनुमतिपत्र, सवारीदर्ता प्रमाणपत्र (ब्लुबुक), सवारीको यान्त्रिक अवस्था, यात्रुप्रति गरिने व्यवहार आदिको समेत चेकजाँच हुने संयोजक घिमिरेले प्रष्ट पारेका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक अमृत भण्डारीले सडकमा मुख्यतया : ४ कारणबाट सवारी दुर्घटना हुने बताए । 

    भण्डारीले लुम्बिनी प्रदेशको गत आर्थिक वर्षको सवारी दुर्घटनालाई विश्लेषण गर्दा सवारी दुर्घटना १ हजार १ सय ६४ भएका थिए । जसमा चालकको लापवाहीबाट ९ सय ५९ वटा दुर्घटना भएको जनाइएको छ । जसमा मानिहरुको मृत्यूदर ५ सय ५१ र दुर्घटनामा कुल १ हजार ७ सय २० जना घाईते भएको भण्डारीले जानकारी दिए । प्रहरी निरीक्षक भण्डारीका अनुसार १ सय ३० वटा बस र माइक्रो दुर्घटना भएको जुन ८.११ प्रतिशत रहेको बताए । त्यस्तै बुटवल क्षेत्रमा भएका विभिन्न ६१ वटा दुर्घटनामा ५ जना मानिसको मृत्यू, ११ जना गम्भिर घाइते भएका थिए भने यस क्षेत्रमा ट्राफिक नियम उल्लंघन गर्ने ५ सय ९४ वटा सवारीलाई जरिवाना समेत गरेको उनले जानकारी दिए । 

    पश्चिम नेपाल बस व्यवासायीका प्रवन्ध सञ्चालक रामचन्द्र भुसालले प्रत्येक वर्ष सवारी दुर्घटनामा करोडौं रकम खर्चिनुपरेको बताउँदै यसलाई केही हदसम्म यस्ता तालिमहरुले कम गर्ने बताउँदै कुशल र दक्ष चालकको नेपालमा कमी रहेको बताए । सरकारले यातायात क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआउँदासम्म यातयात व्यवसायी र यातायात क्षेत्रको विकास हुन नसक्ने बताए । बजार मुल्य र तेलको मूल्य आकाशिदै जानु वैज्ञानिक भाडादर कायम नहुनु लगायत कारणले गर्दा व्यवसायी पलायन हुन बाध्य भएको बताए । 

    नेपाल यातयात स्वतन्त्र मजदुर संगठनका कृष्ण कंडेलले पेशालाई मर्यादित बनाउनका लागि चालक, परिचालक र हेल्परले आफूलाई अनुशासित बनाउनुपर्ने बताए । 

    कार्यक्रममा सह–संयोजक जितेन्द्र खत्री, प्रा.लि.का सञ्चालकहरु मोहन पिएस, चेतनारायण बेल्बासे, मोहन केसीलगायतले बोल्दै सवारी दुर्घटना र यस्ले निम्ताउने जोखिमबाट बच्नका लागि चालक र परिचालकहरुले अपनाउन सकिने सुरक्षात्क उपायहरु र सवारी दुर्घटना कमगर्ने उपायहरुबारे चर्चा गरेका थिए ।

    कार्यक्रममा लामो तथा छोटो दुरीमा सवारीसाधन चलाउने चालक परिचालक गरी करिब १ सय जनाको उपस्थित रहेको थियो । पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.ले २०६६ सालदेखि दुर्घटना न्यूनीकरण तालिम सञ्चालन गर्दै आएको छ ।