मंगलवार , चैत्र २८, २०७९
भैरहवा, २८ चैत ।
कर्मचारी मिलन केन्द्र, रुपन्देहीले नयाँ वर्ष २०८० सालको भित्तेपात्रो (क्यालेण्डर) प्रकाशन गरेको छ । मिलन केन्द्रद्वारा प्रकाशित भित्तेपात्रोको मंगलबार जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, केन्द्रका अध्यक्ष तथा सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल, रुपन्देही प्रहरी प्रमुख (एसपी) भरतबहादुर विक, सशस्त्र प्रहरी नं. २७ गणका प्रमुख सशस्त्र प्ररी उपरीक्षक (एसपी) दीपक थापा लगायतले संयुक्तरुपमा विमोचन गरेका हुन् ।
भित्तेपात्रे विमोचन तथा नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मिलन केन्द्रका संरक्षक समेत रहेका प्रमुख जिल्ला अधिकारी पाण्डेले पछिल्लो समय संस्थाले कर्मचारीको हकहितसँगै सामाजिक कार्य पनि गरिरहेको भन्दै प्रशंसा गरे । उनले आउँदा दिनमा पेशागत मर्यादा, कार्यसम्पादन, वृत्तिविकाससँगै सामाजिक क्षेत्रलाई पनि प्राथमिकता दिएर अघि बढ्न सुझाव दिए ।
मिलन केन्द्रले विभिन्न ठाउँमा सहयोग, कर्मचारीको हकहितमा काम र विभिन्न दिवसका अवसरमा सहभागिता जनाउँदै आएको बताउँदै पाण्डेले आउँदा दिनमा तीन तहका कर्मचारीलाई एकताबद्ध गर्दै एकआपसमा भाइचारको विकास गर्नपर्ने सुझाव दिए । उनले नयाँ वर्षसँगै कर्मचारीको बृत्तिविकास हुनेमा विश्वास गर्दै जनभावना र कानूनको परिधिमा रहेर उत्कृष्ट कार्यसम्पादन गर्न सुझाव दिए । ‘नयाँ वर्षले सबैमा सुख, शान्ति र समृद्धि ल्याउनुका साथै कर्मचारीलाई गुनासोरहित कार्य गर्न प्रेरणा प्रदान गरोस्’, उनले शुभकामना दिँदै भने ।
मिलन केन्द्रका अध्यक्ष एवं सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले सबै कर्मचारीले जवाफदेहीताको ख्याल गर्दै जिम्मेवारीमा अब्बल बनेर आम नागरिकलाई सेवा प्रवाहमा सन्तुष्ट बनाउनुपर्नेमा जोड दिए । २०७९ सालमा रुपन्देहीका सबैजसो कार्यालयले गुनासोरहित कार्यसम्पादन गरेको जनाउँदै अर्यालले नयाँ वर्ष २०८० मा पनि अझै उत्कृष्ट कार्यसम्पादन गर्न सबै कर्मचारीलाई आग्रह गरे । ‘यहाँहरुले विगतमा गरेको काम जस्तै आगामी वर्ष पनि दैनिक कार्यसम्पादन उत्कृष्ट, अनुकरणीय, नागरिकमैत्री बनोस्’, उनले भने, ‘सबै कर्मचारीको वृत्ति विकास होस्, नयाँ उर्जा थपियोस् र यहाँहरुको भूमिका सम्झन लायक बनोस्, यो मेरो शुभकामना ।’
अध्यक्ष अर्यालले यो वर्ष कार्यालय भन्दा अतिरिक्त समय निकालेर रुपन्देहीको मानवसेवा आश्रमलगायत ४ ठाउँमा केन्द्रमार्फत् सहयोग गरिएको, भित्तेपात्रो प्रकाशन गरिएको, कर्मचारी हकहीतमा काम गरिएको जनाए । उनले भित्तेपात्रोमा जिल्लाका अधिकांश पर्यटकीय स्थल र गौरवका आयोजनालाई समावेश गरी प्रचाप्रसार र प्रबद्र्धनको कार्य गर्ने प्रयास भएको बताए । आउँदा दिनमा कर्मचारीको क्षमता विकास, लोकसेवा आयोगका तयारी कक्षा संचालन, सरकारी कार्यालयहरुको सेवा प्रवाहसम्बन्धी प्रतिवेदन तयार गर्ने, रक्तदान आयोजना गर्ने, स्मारिका प्रकाशन गर्ने र कर्मचारीलाई उत्प्रेरणाका तालिमहरु संचालन गर्ने तयारी गरिरहेको अर्यालले बताए ।
भित्तेपात्रो प्रकाशन समिति संयोजक एवं मिलन केन्द्रकी उपाध्यक्ष धर्मा अर्यालले नयाँ वर्षले सबै कर्मचारीहरुको पेशागत र व्यक्तिगत जीवनमा सफलता प्रदान गर्ने विश्वास व्यक्त गरिन् । उनले सबैको सहयोगले भित्तेपात्रो प्रकाशन गर्न सकिएको जनाउँदै आउँदा दिनमा पनि निरन्तर सहकार्यले मिलन केन्द्रलाई भरोसायोग्य बनाउन सकिने बताइन् । उनले भित्तेपात्रोमा पर्यटकीय स्थल र ज्ञानज्ञुनका कुराहरु समावेश गरेर साकारात्मक सन्देश प्रवाह गर्ने प्रयास गरिएको जनाइन् ।
मिलन केन्द्रका कोषाध्यक्ष युवराज पौडेलले नयाँ वर्षले सबै कर्मचारीहरुको पेशागत जीवनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । उनले केन्द्रको कोषलाई बलियो बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij