मंगलवार , चैत्र २८, २०७९
भैरहवा, २८ चैत ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गठबन्धन सरकारले पूर्णता पाएपछि अत्यन्तै व्यवस्थित र परिणामुखी ढंगले काम गर्ने बताएका छन् । उनले त्यसका लागि प्रतीक्षा गर्न आग्रह गरे ।
प्रेस सेन्टर नेपाल, रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री श्रेष्ठले सरकारले लिएको लक्ष्य पूरा गर्न दृढ प्रतिवद्ध रहेको बताए । उनले भने, ‘अहिले नयाँ गठबन्धनले चाहेजति र अपेक्षा गरेजति काम गर्न सकेन भनेर प्रश्न त उठिरहेको छ । तर, केही दिनमा सरकारले पूर्णता पाएपछि काम तीव्रताका साथ अघि बढ्छ ।’
उनले सुशासन र समृद्धिका लागि सरकारले काम अघि बढाएको बताए । उनले अर्थतन्त्रमा केही समस्या देखा परेको र समस्यालाई समाधान गर्दै अर्थतन्त्रलाई लयमा ल्याउन सके समृद्धिमा फड्को मार्न सकिने बताए । गृहमन्त्री श्रेष्ठले अर्थतन्त्रको समस्या पहिचान गर्ने र समाधानका उपायका बारेमा छलफल गरेर निष्कर्षमा पुग्नेमा प्रधानमन्त्री प्रचण्डले पहलकदमी गर्नुभएको बताए । उनले भने, ‘समृद्धिको कार्यभर पूरा गर्नु सरकारको कर्तव्य हो ।’
अहिले राष्ट्रिय महत्वका चारवटा कार्यभार पूरा गर्नुपर्ने उनको भनाइ छ । राष्ट्रिय सार्वभौमिकता, स्वाधिनता, राष्ट्रिय एकतालाई सुदृढ गर्ने, ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त ऐतिहासिक राजनीतिक परिवर्तन तथा उपलब्धीलाई रक्षा गर्ने, शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्ने र सामाजिक तथा आर्थिक रुपान्तरण एवं आम मानिसको जीवनमा परिवर्तन ल्याउनुपर्ने उनले बताए ।
आफूले गृहमन्त्रीको जिम्मेवारी सम्हालिसकेपछि आन्तरिक र बाह्य सुशासनमा ध्यान दिएको बताए । उनले कहीकतै राजनीति र आर्थिक चलखेलले भूमिका नपाओस् भन्ने गरी अघि बढेको बताए । उनले भने, ‘जनतालाई आवश्यक सेवा सरल ढंगले प्रवाह गर्नुपर्छ । शान्ति सुरक्षाको सुनिश्चितता गर्नुपर्छ । कालोबजारी र अपराध नियन्त्रण गर्न लागिपरेका छौं । ’ उनले कुनै पनि अवैधानिक गतिविधि गर्न नपाइने र कसैलाई काखा र पाखा नगरिने बताए ।
राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा तथा राष्ट्रिय सुरक्षालाई प्रवद्र्धन गर्ने दायित्व गृह मन्त्रालयको भएको उनले बताए । गृहमन्त्री श्रेष्ठले भने, ‘हामी मुलुकलाई सुशासन र समृद्धिको बाटोमा लैजान चाहन्छौं । पर्यटन उद्योगलाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ छ ।’
उनले नागरिकता विधयेक अगाडि बढाउने बताए । संविधानअनुसार नागरिकता पाउनुपर्ने नागरिकलाई नागरिकताबिहीन बनाउन नसकिने बताए । नागरिकताबिहीन हुँदाको पीडाबोध गर्न सक्नुपपर्ने उनको भनाइ छ । नागरिकतासम्बन्धी केही विषयको लागि राष्ट्रिय सहमतिको प्रयत्न गरिने गृहमन्त्री श्रेष्ठले बताए ।
सरकार केही महिनापछि परिवर्तन हुन्छ भन्ने प्रतिपक्ष दलका नेताबाट कुरा आइरहेको छ भन्ने पत्रकारको जिज्ञासामा गृहमन्त्री श्रेष्ठले अब सरकारको स्थायीत्वको बारेमा कहिलेसम्म चल्छ भन्ने कुरा हेर्नु नै वेश हुने बताए । उनले भने, ‘यो व्यवहारबाट पुष्टि हुन्छ । यसबारे समय खेर नफाल्दा नै राम्रो हुन्छ ।’
नेपाल आउने भारतीय पर्यटकलाई २५ हजारभन्दा बढी रकम ल्याउन नदिएर समस्या परेको विषयमा पत्रकारको प्रश्नमा मन्त्री श्रेष्ठले प्रहरी कानूनअनुसार नै अगाडि बढ्ने तर सरकारले पर्यटन उद्योगको विकासमा प्राथमिकता दिएकाले यसबारे यसअघिका नीति पुनः विचार गर्न सकिने बताए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij