२०८२, चैत्र २१ गते

Apr 04 2026 | २०८२, चैत्र २१ गते

सिद्धबाबा सुरुङ मार्गको गृहमन्त्री र भौतिक मन्त्रीद्वारा निरीक्षण

‘कुनै बहानामा निर्माणमा ढिलाइ गर्ने छुट छैन’ 

सोमवार , चैत्र २७, २०७९

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • रुपन्देही, २७ चैत । 
    उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डमा निर्माण हुने सुरुङ मार्ग क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । सोमबार सांझ स्थलगत अवलोकनमा उनीहरुसँग नेपालका लागि चिनियाँ राजदूतमा छन् सोङ, भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्मा पनि सहभागी थिए ।

    सुरुङ मार्ग निर्माणस्थलको अवलोकनपश्चात उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अब कुनै बहानामा निर्माण सुरु भएका योजना ढिलाइ गर्ने अधिकार कसैलाई नभएको बताए । उनले अब ढिलाइ हुनुको कारण नागरिकले बुझ्न पाउनेगरी निर्माण कम्पनीले जवाफ दिनुपर्ने बताए । 

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालाले सुरुङ मार्गको निर्माणका लागि ठेक्का भइसकेको र छिट्टै निर्माणको काम सुरु हुने बताए । उनले स्थलगत निरीक्षणपश्चात अब यससँग सम्बन्धित पक्ष निर्माण कम्पनी, मन्त्रालय सम्बद्ध कर्मचारीसँग छलफल गरेर यो योजना सुरु गर्न केही अफठ्यारा भए तिनलाई फुकाउने छिटोभन्दा छिटो काम अगाडि बढाउने गरी सहजीकरण गर्ने बताए ।

    मन्त्री ज्वालाले सिद्धबाबा सुरुङ मार्गसहित निर्माणधीन सडक चाँडो सम्पन्न गर्न सबै पक्षलाई बोलाएर छलफल गर्ने बताए । उनले बुटवल–पाल्पा हुँदै विभिन्न ठाउँमा पुग्ने सडक असुरक्षित भएकाले सिद्धबाबामा सुरुङमार्ग निर्माण सुरु गरिएको बताए । उनले यो सडकलाई सुरक्षित बनाउनका लागि सुरुङमार्ग र अन्य ठाउँमा सडक सुरक्षित हुने गरी काम अघि बढाइएको बताए । 

    उनले आफू मन्त्री भएपछि पहिलोपटक प्रारम्भिक जानकारी लिनका लागि निरीक्षणमा आएको बताए । उनले सुरुङमार्गको काम छिटो निर्माण सक्ने गरी आवश्यक निर्देशन दिने समेत बताए । उनले तत्कालका लागि पास भएका योजनाका कामहरुलाई गुणस्तरीय रुपमा काम गर्न निर्देशन दिएको बताए । 

    ‘प्रधानमन्त्रीज्यूले पनि टेण्डर भएका, बजेट छुट्टिएका योजना दुई सिफटमा काम गरेर भए पनि सक्न निर्देशन दिनुभएको छ’ मन्त्री ज्वालाले भने -‘अबको ३ महिना काम गर्ने समय हो, रिजल्ट निकाल्ने गरि काम गर्न सबैलाई भनेका छौं ।’ उनले मन्त्रालय, विज्ञ एंव निर्माण व्यवसायीहरुसमेतको उपस्थितिमा समस्याहरुको पहिचान गरेर तिनीहरुको समाधान गर्ने गरी काम गर्ने बताए । 

    त्यसअवसरमा मन्त्रालयका सचिव केशव कुमार शर्माले सिद्धबावा सुरुङ्ग मार्ग स्वीस सरकारका विज्ञहरुको सहयोगमा डिजाइन गरिएको र यो इपिसीका आधारमा निर्माण हुने भएकाले डिजाइनमा कुनै समस्या भए निर्माण व्यवसायी नै जिम्मेवार हुने जानकारी दिए । 

    सुरुङमार्ग निर्माणका लागि चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्शन इञ्जिनियरिङ कर्पोरेसनसँग १ वर्षअघि रु ७ अर्ब ३४ करोड २१ लाख ४ हजारमा ठेक्का सम्झौता भएको थियो । अहिले सुरुङमार्गको बेस तयारका लागि काम सुरु भइसकेको छ । 

    पाल्पाको तिनाउ गाउँपालिका–२, दोभानमा साइट क्याम्प तयार गरेर चिनियाँ प्राविधिक र कामदारहरुले काम गरिरहेका छन् । उनीरुलाई लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती, पूर्वमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेले स्वागत तथा योजनाको भौगोलिक अवस्थाको बारेमा जानकारी दिएका थिए । मन्त्रीद्वयको टोलीले सोमबार नारायणगढ–बुटवल सडकखण्डको अवलोकन गरी ढिलाइ हुनुको कारण खोजेको र स्थानीयसमक्ष सुझाव लिएको छ । 

    त्यस्तै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगै निरीक्षणमा आएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालाले बुटवल–नारायणगढ सडकखण्डको काम सुस्त भएको पाइएकाले चाँडो गर्न निर्देशन दिएको बताए । उनले बुटवल नारायणगढ सडकखण्डको कामलाई अघि बढाउनका लागि निर्माण व्यवसायी र आयोजना प्रमुखलाई निर्देशन दिएको बताए । ‘हामी दिनभर बुटवल नारायणगढ सडकखण्ड निर्माणको निरीक्षणमा व्यस्त भयौं’ उनले भने –‘उपभोक्ता, निर्माण व्यवसायी, आयोजना प्रमुखहरुको कुरा सुनेका छौं’ मन्त्री ज्वालाले भने -‘एक साईड क्लिएर गराउन निर्देशन दिएका छौं ।’ मन्त्री ज्वालाले वर्षामा सडक अवरुद्ध नहुने व्यवस्था मिलाउने समेत बताए ।