२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

साई ग्लोबलमा तीनदिने शिक्षक क्षमता अभिवृद्धि तालिम 

सोमवार , चैत्र २७, २०७९

भैरहवा, २७ चैत ।
साई ग्लोबल सेकेण्डरी स्कूल, सिद्धार्थनगर–८, रुपन्देहीको आयोजनामा तीनदिने शिक्षक क्षमता अभिवृद्धि तालिम कार्यक्रम सम्पन्न भएको छ । शिक्षकहरुको क्षमता अभिवृद्धिका लागि कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ ।

तालिममा उत्कृष्ट विद्यालयका विशेषता र आदर्श मार्गदर्शन, सुधारात्मक शिक्षण रणनीति, प्रभावकारी प्रश्न निर्माण सीप, सहयोगी सिकाइ वातावरणका लागि मनोसंवेगात्मक सचेतनासहितको कक्षाकोठा व्यवस्थापन रणनीति, मुख्य विषयवस्तुको बुँदा टिपोट, पाठ योजना निर्माण, डिजिटल सिकाइ साधनको प्रयोग गरी स्वतन्त्र सिकाइ संस्कृति निर्माण, इलर्निङ पोर्टल, शिक्षक तथा विद्यार्थी वेल बिइङ र विभिन्न नविनतम सिकाइ रणनीतिहरुको अभिमुखीकरण एवं अभ्यास गरिएको थियो ।

शनिबार आयोजित तालिम समापन कार्यक्रममा बोल्दै विद्यालय सञ्चालक समितिका अध्यक्ष हरि बहादुर थापाले तालिमबाट सिकेका नविनतम सीपहरुको कक्षाकोठामा उपयोग गर्न शिक्षकहरुलाई आग्रह गरे । उनले शिक्षकको कार्यक्षमताबाट विद्यार्थीको उपलब्धि बढ्ने भएकोले उत्कृष्ट सिकाइ वातावरण सिर्जनाका लागि व्यवस्थापनको पक्षबाट निरन्तर कार्य गरिरहने बताए । 

त्यस्तै विद्यालयका प्रबन्ध निर्देशक मोती प्रसाद पौडेलले शिक्षकको क्षमता अभिवृद्धि भए कक्षाकोठामा राम्रो प्रभाव पर्ने भएकोले आगामी दिनमा विद्यालयले थप शिक्षक सहायता कार्यक्रम सञ्चालन गर्ने बताए ।

विद्यालयका प्रिन्सिपल डा.कौशल राज गौतमले शैक्षिक सत्र २०८० देखि कक्षा शिक्षण, विद्यार्थीका सिर्जनशील क्षमताको प्रस्फुटनका लागि जर्नल प्रकाशन र शिक्षकहरुका पेशागत विकासका कार्य गर्ने बताए । 

त्यसै गरी सहजकर्ता गोपाल प्रसाद बस्यालले विद्यालयमा प्राज्ञिक शैक्षिक कार्यका साथै परियोजना कार्य, विद्यार्थी गुणीय चक्र, अभिभावक शिक्षा जस्ता सामाजिक एवं सर्वांगीण विकासका कार्य गर्न सुझाव दिए ।

समापन सत्रमा विद्यालयका सहायक प्रिन्सिपल विष्णु प्रसाद पाण्डे, शिक्षक विनिता गैरे र प्रकाश ज्ञवालीले तालिमका सिकाइ उपलब्धिको संक्षेपीकरण प्रस्तुत गरेका थिए ।

तालिमको सहजीकरण प्रशिक्षक गोपाल प्रसाद बस्यालले गरेका थिए । तालिममा विद्यालयका ३० जना शिक्षकहरु सहभागीता रहेको थियो ।