
आइतवार , चैत्र २६, २०७९
भैरहवा, २६ चैत ।
नेपाल सोतोकान कराते संघ लुम्बिनी प्रदेश संघ गठन तथा रेफ्री सेमिनार कार्यक्रम आइतबार रुपन्देहीको तिलोत्तमास्थित योगीकुटीमा सम्पन्न भएको छ । कार्यक्रममा राजकुमार गुप्ता (रुपन्देही) को अध्यक्षतामा ९ सदस्यीय लुम्बिनी प्रदेश कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा उपाध्यक्षमा शंकर बहादुर वि.क. (प्यूठान), सचिवमा मनिरत्न खाँण (पाल्पा), कोषाध्यक्षमा रवि कुमार मल्ल (पाल्पा), सदस्यहरुमा किरण कुमार थारु (बर्दिया), यमबहादुर दर्लामी (रुपन्देही), पवन कुमार पौडेल (रुपन्देही), झमान सिंह नेपाली (प्यूठान) र सन्दिप भट्टराई (रुपन्देही) चयन भएका छन् । नवगठित कार्यसमितिलाई निर्वाचन आयुक्त प्रतीक्षा श्रेष्ठले सपथग्रहण गराएकी थिइन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले संस्था गठन हुनु भन्दा पनि संस्थाले कसरी कार्यसम्पादन गर्छ भन्ने कुरा महत्वपूर्ण रहेको बताए । उनले खेलकुदसम्बन्धी संस्थाहरुलाई प्रदेश खेलकुद परिषद्ले सुक्ष्म तरिकाले हेरिरहेको बताए । उनले भने, ‘सही तरिकाले गन्तव्यमा पुग्नुपर्छ । राम्रो गतिविधि गर्नुपर्छ ।’
नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसीले करातको विकासका लागि अगाडी बढ्नुपर्ने बताए । उनले खेलकुदमा अनुशासन आवश्यक भएको बताए । उनले भने, ‘नेपालमा अफिसियल कराते चारवटा छन् । ’
लुम्बिनी प्रेस क्लबकी अध्यक्ष सम्झना शर्माले खेलाडीको आयआर्जनमा ध्यान दिनुपर्ने बताइन् । उनले तीनै तहका सरकारले खेलाडीको सम्मानमा ध्यान दिनुपर्नेमा जोड दिइन् ।
नेपाल सोतोकान कराते संघ लुम्बिनी प्रदेशका अध्यक्ष राजकुमार गुप्ताले करातेको विकासमा आफू लागिपर्ने बताए । उनले आफूलाई टीमले सहयोग गर्नेमा विश्वस्त रहेको बताए । उनले भने, ‘सोतोकन कराते संघको विकासका लागि जिम्मेवारी पाएको छु, सल्लाह–सुझाव लिएर अघि बढ्छु । ’
नेपाल कराते महासंघका अध्यक्ष श्याम शेर्पाले करातेको विकासमा लाग्न नवगठित समितिलाई आग्रह गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij