२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

अस्पताल विकास समिति कर्मचारी यूनियन भीम अस्पतालको अध्यक्षमा गोपाल उपाध्याय

शनिवार , चैत्र २५, २०७९

भैरहवा, २५ चैत ।
अस्पताल विकास समिति कर्मचारी यूनियन भीम अस्पताल इकाई समितिको तेस्रो अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले पुनः गोपाल उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । अध्यक्षमा निर्वाचित उपाध्याय नेपाल सि.एम.ए. संघका केन्द्रीय उपाध्यक्ष समेत हुन् ।

कार्यसमितिको उपाध्यक्षमा शशीकान्त उपाध्याय, सचिवमा रविन्द्र यादव (रवि), कोषाध्यक्षमा शान्त अर्याल, सह–सचिवमा भेषनारायण चौधरी र सह–कोषाध्यक्षमा रीमा सिंह रहेका छन् । त्यस्तै सदस्यहरुमा रुप नारायण चौधरी, नन्दा कुमारी पुन, भावना पोखरेल, सपना पराजुली र दुर्गा तिवारी रहेका छन् ।

अधिवेशनको उद्घाटन गर्दै अस्पताल विकास समिति कर्मचारी यूनियनका केन्द्रीय कोषाध्यक्ष जनकराज पन्तले यूनियन प्रत्येक कर्मचारीको हकहित र व्यक्तित्व विकासका लागि अघि बढ्ने बताए । उनले अस्पतालमा कार्यरत कर्मचारीले विगतमा आन्दोलन गरे पनि सम्पूर्ण मागहरु पूरा हुन नसकेको बताए । उनले भने, ‘कर्मचारीका माग सम्बोधन गर्नुपर्छ । लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका अस्पतालका कर्मचारीहरु मिलेर प्रादेशिक संरचना (यूनियन) गठन गर्नुपर्छ ।’

त्यस्तै भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले अस्पताल विकास समिति कर्मचारीको हकहितमा अघि बढेको बताए । उनले अस्पतालको आन्तरिक आम्दानी बढे कर्मचारीको सेवासुविधा पनि बढ्ने बताए । अध्यक्ष भण्डारीले कर्मचारीको सल्लाह सुझाव लिएर अस्पताल विकास समिति अघि बढ्ने बताए । उनले भने, ‘विगतमा आन्दोलन पनि भयो र कर्मचारीका माग सम्बोधन पनि गरियो । यद्यपि केही माग सम्बोधन गर्न लागिपरेका छौं । ’

अस्पताल विकास समिति कर्मचारी यूनियन भीम अस्पताल इकाई समितिका अध्यक्ष गोपाल उपाध्यायले विगतमा कर्मचारीको माग सम्बोधन गराउन यूनियन आमरण अनशनमा समेत बसेको बताए । उनले कर्मचारीको अभिभावक अस्पताल विकास समिति र अस्पताल प्रशासन रहेको बताए । उनले भने, ‘कर्मचारीका केही माग सम्बोधन भएका छन् र बाँकी पनि छन् । हामी काम गर्नबाट पछाडी हट्दैन । तर असमानता हुनुहुँदैन ।’

पृथ्वीचन्द्र अस्पताल, परासीका प्रशासकीय अधिकृत भीम अस्पतालका पूर्व प्रशासकीय अधिकृत गोविन्द ज्ञवालीले संगठन नै शक्ति भएको बताए । उनले भने, ‘जतिबेला समस्या पर्छ, संगठन अघि बढ्छ ।’ उनले कर्मचारीको सुरक्षाको प्रत्याभूति र समस्याको समाधानतर्फ कर्मचारी यूनियन लाग्नुपर्ने बताए ।

भीम अस्पतालका प्रशासन प्रमुख खिम बहादुर पाण्डेले कर्मचारीहरुलाई आफ्नोतर्फबाट सहयोग रहने बताए ।
अस्पतालका ल्याब इञ्चार्ज आशिष श्रेष्ठले कर्मचारीको हकहितका लागि यूनियन अघि बढेको बताए ।

अस्पताल विकास समिति कर्मचारी यूनियन भीम अस्पताल इकाई समितिका अध्यक्ष गोपाल उपाध्यायको अध्यक्षता, अस्पताल विकास समिति कर्मचारी यूनियनका केन्द्रीय कोषाध्यक्ष जनकराज पन्तको प्रमुख आतिथ्यता, भीम अस्पताल इकाई समितिका सचिव शशीकान्त उपाध्यायको स्वागत तथा सदस्य रविन्द्र यादव (रवि) को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

IMG_4021.JPG