२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

दिल्लीमा अलपत्र किशोरको उद्वार

शनिवार , चैत्र २५, २०७९

भैरहवा, २५ चैत ।
प्रवासी नेपाली मित्र मन्चले भारतमा अलपत्र १३ वर्षिय नेपाली किशोर शंकर चौधरीको उद्वार गरी नेपाल ल्याएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ८ का शंकर गतवर्ष साथीहरुको लहैलहैमा भारत पसेका थिए । भारतमा ज्याला मजदूरी गर्दागर्दै प्रहरीले उद्वार गरेर उनलाई बाल कल्याण समिति फिरोजाबादको बाल गृहमा राखिएको थियो ।

झण्डै ६ महिना जति बाल गृहमा बसेका शंकरलाई दिल्लीमा क्रियाशील प्रवासी नेपालीहरुको संस्था मित्र मन्चले उद्वार गरी रुपन्देही ल्याएर मानव कल्याण मित्र मञ्च र रोटरी क्लब अफ मणिग्रामलाई हस्तान्तरण गरेको हो । 
प्रवासी नेपाली मित्र मन्चका अध्यक्ष बिष्णुप्रसाद खनाल र सदस्य सिद्धार्थ खनालले मानव कल्याण मित्र मन्चका अध्यक्ष दुर्गाप्रसाद अर्याल, महासचिव झविलाल भण्डारी तथा रोटरी क्लबका सचिव मिनप्रसाद भण्डारीलाई बुझाएका हुन् ।

बुवा सानैमा वेपत्ता र आमाले ज्याला मजदूरी गर्ने अतिविपन्न परिवारका शंकर २ कक्षा मात्र पढेका छन् । अहमदावादमा २ महिना होटलमा काम गरी विभिन्न हण्डर र ठक्कर खाँदै आग्रा, दिल्लीमा भौतारिइरहेका उनलाई दिल्लीका एक अटोचालकले उद्वार गरी प्रहरीलाई बुझाएका थिए । प्रहरीले बाल गृहमा पठाइदियो । बाल गृह सन्चालक बाल कल्याण समितिका न्यायिक मजिष्ट्रेटले नेपाली राजदुतावास, प्रवासी नेपाली मित्र मन्च र मानव कल्याण मित्र मन्चसँग समन्वय गरी नेपाल पठाउन सहयोग गरेका थिए ।

मानव कल्याण मित्र मन्च तथा रोटरी क्लब अफ मणिग्रामका अध्यक्ष दुर्गाप्रसाद अर्यालले बाल गृहमा सुर्खेतका शंकर चौधरी रहेको प्रारम्भिक जानकारीपछि त्यहाँको विद्यालय, प्रहरी र नगरपालिकासँग समन्वय गरी उनको घर तथा आफन्त पत्ता लगाएका थिए । प्रवासी नेपाली मित्र मन्चले जिम्मा लगाएका शंकरलाई १/२ दिनमै उनको परिवारमा पुनस्र्थापित गर्ने अर्यालले जानकारी दिए ।

प्रवासी नेपाली मित्र मन्चका अध्यक्ष विष्णुप्रसाद खनालले स्थापनादेखि हालसम्म २ हजार २ सय ५५ महिला तथा बालबालिकाको उद्वार तथा पुनस्र्थापना गरी नेपालमा पुनस्र्थापित गरिएको जानकारी दिए । उनले मन्चले अलपत्र, बेचबिखन वा शोषणमा परेका नेपालीको उद्वार तथा सहयोग गरिरहेको पनि जानकारी दिए ।

शंकरलाई जिम्मा लगाउन आयोजित कार्यक्रममा रोटरी क्लब अफ मणिग्रामका पूर्वअध्यक्ष कुलमणि ज्ञवाली, प्रेसिडेण्ट इलेक्ट निर्मल बस्याल, सचिव सुरज भण्डारी, मन्चका महासचिव झविलाल भण्डारीलगायतले पनि मानव बेचबिखन र उद्वार कार्यबारे बोलेका थिए ।