
शनिवार , चैत्र २५, २०७९
भैरहवा, २५ चैत ।
नवज्योति इङ्गलिस बोर्डिङ्ग स्कुल रुपन्देही प्रा.लि.को गत मंसिर १७ मा भएको साधारणसभालाई पुनरावेदन अदालतले अवैध ठहर गरेको छ ।
उक्त विद्यालयका संचालकबीच भएको विवादका कारण सहमति नभएपछि मंसिर १७ मा साधारण सभा बोलाइएकोमा शेयर संरचनाको हिसाबले सबैभन्दा ठूला शेयरधनी तथा विद्यालयका अध्यक्ष लक्ष्मण ज्ञवालीले उक्त साधारणसभा स्थगित गरेका थिए । कम्पनी ऐन २०६३ को दफा ६७ (७) मा साधारणसभाको अध्यक्षता गर्ने व्यक्तिले आवश्यकतानुसार सभा स्थगित गर्ने सक्ने भन्ने व्यवस्था भए बमोजिम अध्यक्ष ज्ञवालीले सो व्यवस्थाको प्रयोग गरी साधारणसभा स्थगित गरेको भए पनि अन्य केही शेयरधनीले छुट्टै साधारण सभा गरी झविन्द्रप्रसाद कंडेललाई अध्यक्ष घोषणा गरेका थिए ।
मंसिर १७ मा भएको साधारणसभा बदरको माग गर्दै कम्पनी रजिष्ट्रारको कार्यालयसमेतका विरुद्ध उपयुक्त आदेशको माग गरी पाटन उच्च अदालतमा निवेदन परेको थियो । उच्च अदालतका न्यायाधिशद्वय बालेन्द्र रुपाखेती र विपुल न्यौपानेको संयुक्त ईजलाशले उक्त साधारणसभा बदर गर्दै कंडेलको अध्यक्षतामा गठित संचालक समितिलाई अन्तरकालिन आदेश जारी गरी अवैधानिक भनेको छ ।
अदालतले आदेशमा विद्यालयको नाममा रहेको घरजग्गा लगायतको अचल सम्पत्ति बेचबिखन समेत गरी कुनै प्रकारले हक हस्तान्तरण नगर्न नगराउन र कम्पनीको शेयर पूँजी वृद्धि गर्ने र थप शेयर बिक्री वितरण गर्ने गराउने कार्य नगर्नु नगराउनु भनी अन्तरकालिन आदेश समेत दिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij