
शनिवार , चैत्र २५, २०७९
भैरहवा, २५ चैत ।
नेपाल वादोरियो कराँते डो संघ लुम्बिनी प्रदेशको भेला तथा २४ औं दिक्षान्त समारोह शनिबार बुटवलमा सम्पन्न भएको छ । भेलाले जेनेश पन्थीको अध्यक्षतामा १३ सदस्यीय नेपाल वादोरियो कराँते डो संघको लुम्बिनी प्रदेश कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा शोभाखर पन्थ, सचिवमा लोक प्रसाद भण्डारी (राजु) र कोषाध्यक्षमा कमरुद्दीन अली सर्वसम्मत चयन भएको नेपाल वादोरियो कराँते डो संघका संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक हरीशरण के.सी.ले जानकारी दिए । त्यस्तै नवगठित प्रदेश कमिटीको सदस्यहरुमा युवराज अर्याल, अर्जुन गिरी, कृष्ण भण्डारी, अंकित थापा, जिलेदार थारु, विराट पौडेल, सम्झना शर्मा, सुर्य चापागाई र लोकमान गुरुङ चयन भएका छन् ।
नवनिर्वाचित कमिटीलाई बधाई तथा शुभकामना दिदै केन्द्रिय अध्यक्ष के.सी.ले वादोरियो कराँतेको इतिहास लामो रहेको भन्दै अनुशासित खेलाडी उत्पादन गर्न निर्देशन दिए ।
नेपाल कराँते महासंघ केन्द्रिय वरिष्ठ उपाध्यक्ष, साउथ एसियन वादोरियो कराँते डो संघका अध्यक्ष समेत रहेका के.सी.ले ब नेपालमा कराँते महासंघमा कुनै द्धिविधा नरहेको बताउँदै चारवटा कराँतेले मात्रै राष्ट्रिय मान्यता प्राप्त भएको जानकारी दिए । नेपाल वादोरियो संघका कमिटी तथा खेलाडीरु देशका ६५ जिल्ला तथा पाँच प्रदेशमा रहेको जानकारी दिदै बाँकी जिल्ला र प्रदेशमा समेत कमिटी विस्तार गर्ने तयारीमा रहेको उनले बताए ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद् लुम्बिनी प्रदेशका सदस्य सचिव जय प्रकाश भट्टराईले कराँते खेलमार्फत नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन सफल खेलाडीको संरक्षण गर्न परिषद् तत्पर रहेको बताए ।
कार्यक्रममा देवदह नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष मनोज जिसीले कराँते खेलको विकासका लागि आवश्यक पूर्वाधार निर्माणका लागि नगरपालिका जग्गा उपलब्ध गराउन तयार रहेको बताए । कुनै पनि खेलको विकासका लागि देवदह नगरपालिका पूर्वाधार विकासका लागि आवश्यक जग्गा दिन तयार रहेको उनले बताए ।
कार्यक्रममा रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र बहादुर क्षेत्री, नेपाल कराँते महासंघका केन्द्रिय सदस्य अमिर राई, नेपाल कराँते महासंघ लुम्बिनी प्रदेशका महासचिव वासुदेव प्रसाइ, तिरुपति स्पोर्टस् क्लबका अध्यक्ष राजकुमार गुप्ता, लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्मा लगायतले बोलेका थिए ।
कार्यक्रममा श्रीलंकामा हालै सम्पन्न अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा गोल्ड मेडल तथा अन्य मेडल प्राप्त गर्न सफल खेलाडीहरुलाई सम्मान प्रदान गरिएको थियो । त्यस्तै विभिन्न खेलाडीहरुलाई वेल्ड ग्रडिङ्ग अन्तर्गत ब्ल्याकबेल्ट प्रदान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij