
बिहिवार , चैत्र २३, २०७९
भैरहवा, २३ चैत ।
‘शान्ति र समृद्धिका लागि खेलकुद’ भन्ने मूल नारासहित बुद्ध जन्मस्थल लुम्बिनीमा भएको लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगितामा दीपक अधिकारी र राजपुरा पछाईले प्रथम स्थान हासिल गरेका छन् ।
अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले बिहीबार २१ किलोमिटरको दुरीमा प्रतियोगिता गराएको थियो । प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका अधिकारीले १ घण्टा ६ मिनट २ सेकेन्डमा लुम्बिनी वरपरको २१ किलोमिटरको दुरी पुरा गरेका थिए । यससँगै उनले १ लाख ५० हजार रुपैयाँ नगद पाए ।
यस्तै महिलातर्फ २१ किलोमिटरको दुरी नेपाल प्रहरीका पछाईले १ घण्टा २४ मिनेट २ सेकेण्डमा पूरा गरेकी थिइन् । उनले १ लाख ५१ हजार रुपैयाँ नगद शिल्ड तथा प्रमाणपत्र पाइन् ।
प्रतियोगितामा पुरुषतर्फ एपीएफका गोपीचन्द्र पारखी १ घण्टा ६ मिनेट ४६ सेकेण्डमा दुरी पुरा गर्दै द्वितीय भए । त्रिभुवन आर्मीका मुकेश पाल १ घन्टा ७ मिनेट १५ सेकेण्डमा दुरी पार गर्दै तृतीय र त्रिभुवन आर्मीकै नरेन्द्र रावल १ घण्टा ७ मिनेट १५ सेकेण्डमा दुरी पार गर्दै चौथो भए ।
महिलातर्फ एपीएफका विन्द्रा धान्के श्रेष्ठ १ घण्टा २६ मिनेट ७ सेकेण्डमा दुरी पुरा गर्दै द्वितीय भइन् । नेपाल प्रहरीका रेखा विष्ठ १ घण्टा २६ मिनेट ११ सेकेण्डमा दुरी पार गर्दै तृतीय र त्रिभुवन आर्मीका पूर्णलक्ष्मी १ घण्टा २८ मिनेट ३३ सेकेण्डमा दुरी पार गर्दै चौथो भइन् । दुवै विधामा द्वितीयले ७५ हजार र तृतीयले ५० हजार र तृतीयले ३० हजार रुपैयाँ नगद पुरस्कार पाए ।
पुरुषतर्फ त्रिभुवन आर्मीका गजेन्द्र राई पाचौं र महिनदेव जोशी छैटौं भए । एपिएफका राजेन्द्र तामाङ सातौं एवं त्रिभुवन आर्मीका जितेन्द्र दनुवार आठौं, प्रेमबहादुर बस्नेत नवौं र टंक कामी दशौं भए । यस्तै महिलातर्फ नेपाल प्रहरीका राममाया बुढा चौथो र एपिएफका आशा रावल छैठौं भए । त्रिभुवन आर्मी क्लबका निर्मला केसी सातौं एवं खुलाबाट आठौं सुर्खेतकी विन्दु हमाल, त्रिभुवन आर्मीकी निर्मला पुन नवौ र शारदा शाही दशौं भइन् ।
प्रतियोगितामा दुवै विधाका पाचौंले २० हजार, छैठौंले १० हजार, सातौंले ७ हजार, आठौंले ५ हजार र नवौं तथा दशौंले ५/५ हजार नगद पुरस्कार पाए ।
प्रतियोगितामा देशभरका २ हजार ५ सय खेलाडी म्याराथनमा उत्रेको अध्यक्ष ध्रुव आचार्यले बताए ।
बुद्ध जन्मस्थलमा रहेको शान्ति दीपमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मसाल बालेर खेलाडीलाई हस्तान्तरण गरेपछि खेलाडीहरु म्याराथनमा उत्रेका थिए । मायादेवी प्रवेशद्धारबाट सुरु भएको म्याराथन पर्साचौकबाट पुन महिलवार हुँदै २ फन्का लगाएर २१ किलोमिटरको दुरी पार गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij