बिहिवार , चैत्र २३, २०७९
भैरहवा, २३ चैत ।
भैरहवामा भव्य रुपमा हनुमान जयन्ती मनाइएको छ । हनुमान जयन्तीको अवसरमा श्रीराम जानकी हनुमान मन्दिर सेवा समिति, श्री श्याम भित्र मण्डल भैरहवा, मारवाडी सेवा समिति भैरहवा लगायतले बिहीबार बिहान शोभा यात्रा निकालेका छन् ।
श्री हनुमान जन्मोत्सवको पावन अवसरमा रुद्र अवतार श्री हनुमानजी महाराजको शोभा यात्रा निकालिएको श्रीराम जानकी हनुमान मन्दिर सेवा समिति सिद्धार्थनगर–४, रुपन्देहीका अध्यक्ष नरेन्द्र प्रसाद रौनियारले बताए ।
हातहातमा लठ्ठीमा हनुमानको ध्वजा बोकेका भक्तजनले नगर परिक्रमा गरेका थिए । मोटरसाइकल र गाडीमा यात्रा गर्नेले पनि झण्डा बोकेका थिए ।
शोभायात्रामा लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री सन्तोष कुमार पाण्डेय, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, उपप्रमुख उमा अधिकारीलगायत स्थानीयबासीको बाक्लो उपस्थिति रहेको थियो ।
हनुमान जयन्तीको अवसरमा लायन्स क्लब अफ भैरहवा लिगेसीले निःशुल्क मधुमेह परीक्षण एवं सर्वत तथा पानी वितरण गरेको क्लबका संस्थापक अध्यक्ष रविकान्त उपाध्यायले बताए ।
हनुमानको पूजा पाठ गर्ने एवं मन्त्र स्त्रोत पाठ गर्ने र यसबाट शुभ फल मिल्ने, शनिग्रहको दोष नलाग्ने जनविश्वास छ ।
तस्विरहरु : विजय यादव
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij