२०८२, चैत्र २५ गते

Apr 08 2026 | २०८२, चैत्र २५ गते

कपिलवस्तु राष्ट्रिय मूर्ति कार्यशाला सर्‍यो

बिहिवार , चैत्र २३, २०७९

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा, २३ चैत ।
    लुम्बिनी विकास कोषले विभिन्न संस्थाहरुको साझेदारीमा चैत २३ गतेबाट कपिलवस्तुको पर्यटकीय स्थल सगरहवामा गर्ने भनेको कपिलवस्तु राष्ट्रिय मूर्तिकला कार्यशाला सरेको छ । सगरहवा पुरातात्विक महत्वको स्थल भएकाले हेरिटेज प्रभाव मुल्यांकन प्रतिवेदन नआइसकेका कारण कार्यशालाको मिति पछाडि सार्ने निर्णय गरिएको कोषका कोषाध्यक्ष एंव कार्यशाला निर्देशक समितिका संयोजक ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए ।

    कार्यशालाका संयोजक कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेल र लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भटराई, कोषका पुरातत्व महाशाखा प्रमुख हिमाल उप्रेतीसहित मुर्तिकारहरुको टोलीले मंगलबार स्थलगत अवलोकन समेत गरेको थियो ।

    अवलोकन पश्चात ढुंगा व्यवस्थापनको पूर्णता र विद्युत व्यवस्थापन हुन बाँकी रहेको, मुर्तिकारहरुले ढुंगाको थ्रिडी तस्वीर प्राप्त गरेपश्चात मात्र मूर्तिको म्याकेट पठाउनुपर्ने भएकाले प्राविधिक रुपमा पनि समय सार्नुपर्ने अवस्था आएको आयोजकहरुको भनाइ छ । कार्यशालाको नयाँ कार्यतालिका पनि सार्वजनिक गरिएको छ ।

    सगरहवाको एतिहासिक तथ्यसम्बन्धी मुर्तिकारहरुलाई प्रदान गरी अध्ययनका लागि चैत ३० सम्मको समय दिइएको छ । मुर्तिकार एवं विज्ञ समूह, बौद्ध धर्मगुरु, विश्वविद्यालयका सम्बन्धीत विषयका प्रोफेसरसहितको भर्चुअल कार्यशाला २०८० वैशाख ४ गते गरिनेछ  । 

    भर्चुअल संवादपछि वैशाख १० गतेभित्र मुर्तिकारहरुसँग सगरहवाको बौद्धकालिन कथामा आधारित म्याकेट प्रदान गर्ने र वैशाख १२ देखि १५ गतेभित्र म्याकेट फाइनल गरी छनौट भएको मुर्तिकारसँग सम्झौता गर्ने कार्यसूची तय गरिएको कोषाध्यक्ष भट्टराईले बताए ।

    म्याकेट तयार भएपछि मात्रै मात्रै मूर्तिकला कार्यशाला आरम्भ गर्ने मिति तय हुने जनाइएको छ । कार्यतालिकामा भएको हेरफेरले साझेदार र सहयोगी संस्थाहरुप्रति पर्न गएको असुविधा कपिलवस्तु राष्ट्रिय मूर्ति कार्यशालाका तर्फबाट निर्देशक समितिले क्षमायाचना गरेको छ ।