२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

कोरोना जोखिम बढेपछि बेलहिया नाकामा चेकजाँचमा कडाइ

बुधवार , चैत्र २२, २०७९

भैरहवा, २२ चैत ।
कारोना जोखिम बढेपछि सीमा नाका बेलहियामा कडाइ गरिएको छ । भारतबाट स्वदेश फर्किने नागरिकमा कोराना (कोभिड) संक्रमण पुष्टी हुन थालेपछि चेकजाँचमा कडाइ गरिएको हो । 

4.jpg

कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि सीमा क्षेत्रमा नियमित चेकजाँचलाई बढाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताए । उनले विशेष गरी भारतमा लामो समयसम्म बसेका र भारतीय पर्यटकलाई लक्षित गर्दै चेकजाँचको दायरा बढाइएको जानकारी दिए । ‘चेकजाँचका क्रममा संक्रमित फेला परेमा संक्रमितलाई गन्तव्यसम्म पुर्याउने र ट्याकिङ गर्ने तथा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न नदिन विशेष सावधानी अपनाउन अनुरोध गरेका छौं, ’प्रजिअ पाण्डेले भने । भारतमा संक्रमण फैलिरहेकाले सीमा नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको उनको भनाइ छ । 

स्वास्थ्य कार्यालय, रुपन्देहीका प्रमुख गौरव ढकालले बेलहिया हेल्थ डेस्कमार्फत निगरानी बढाइएको बताए । उनले हेल्थ डेस्कमा स्वास्थ्य परीक्षण गर्ने र संक्रमित पुष्टि भए सुरक्षित ढंगले घरसम्म पुर्याइएको बताए ।

‘भारतसँग जोडिएका सीमा नाकामा परीक्षण गर्दा स्वदेश फर्किएकामा संक्रमण देखिन थालेपछि चेकजाँच र निगरानी बढाइएको उनले बताए । परीक्षणको दायरा बढाएका छौं, एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न नदिन परामर्श पनि दिएका छौं, ’ढकालले भने ।

यसैबीच रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, रुपन्देही प्रहरी प्रमुख (एसपी) भरत बहादुर वि.क., स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकाललगायतले बुधबार बेलहिया हेल्थ डेस्कको अनुगमन गर्दै त्यहाँको अवस्थाबारे जानकारी लिएका छन् । सोक्रममा प्रजिअ पाण्डेले कोभिड–१९ को संक्रमण बढ्न नदिन अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने बताए । उनले स्वास्थ्य परीक्षणको दायरालाई बढाउन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिए ।

2.jpg

लहिया हेल्थ डेस्कका अनुसार चैत १८ देखि २१ गते (चारदिनको अवधिमा) भारतबाट फर्किएका ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सो अवसरमा स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाह, सिद्धार्थनगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गीता न्यौपाने पोखरेल, जनस्वास्थ्य निरीक्षक विजयनाथ चौधरी, बेलहिया हेल्थ डेस्कका इञ्चार्ज डा. अरुण खरेललगायतको उपस्थिति रहेको थियो ।

3.jpg

पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढ्दै गएको छ । पछिल्लो दुई सातायता नेपालमा कोरोना संक्रमितको संख्या नियमित बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।