२०८२, चैत्र २५ गते

Apr 08 2026 | २०८२, चैत्र २५ गते

‘नेपाललाई हिन्दु राष्ट्र कायम गर्नका लागि निर्णायक आन्दोलनमा जानुपर्ने समय आयो’

बुधवार , चैत्र २२, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • बुटवल, २२ चैत । 
    सनातन हिन्दु धर्म नै विश्वको सबैभन्दा पुरानो धर्म भएको विश्व हिन्दु महासंघ नेपालको महासभामा बोल्ने धार्मिक, सामाजिक र राजनैतिक वक्ताहरुले दावी गरेका छन् । मंगलबारदेखि रुपन्देहीको बुटवलमा सुरु भएको नेपाल राष्ट्रिय समितिको महासभा तथा अधिवेशनमा बोल्ने विभिन्न क्षेत्रका वक्ताहरुले हिन्दु धर्म मानव सभ्यताको प्रार्दुभावसँगै विकास भएको धर्म भएकोले हिन्दु धर्म अन्य सबै धर्मको जननी भएको समेत जिकिर गरेका छन् । 

    महासभामा बोल्दै पूर्व उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा सनातन हिन्दु राष्ट्र कायम गर्नका लागि सबै एकजुट भइ निर्णायक आन्दोलनमा जानुपर्ने समय आएको बताए । केही राजनैतिक दलले हिन्दु अधिराज्य नेपाललाई विदेशीको इसारामा नाचेर धर्मनिरपेक्ष बनाएको उल्लेख गर्दै अध्यक्ष लिङ्देनले धर्मले समाज र मानिसलाई अनुशासित मर्यादित बनाउने विश्वास व्यक्त गरे । अध्यक्ष लिङ्देनले भने, ‘अब समाजलाई सुसंस्कृत बनाउने हो भने विद्यालय तहबाटै धार्मिक र नैतिक शिक्षा दिनुपर्छ । ’

    विश्व हिन्दु महासंघका केन्द्रिय अध्यक्ष डा. रामचन्द्र अधिकारीले वर्तमान परिवेशमा मानवतावाद, सामाजिक न्याय, प्रकृतिको संरक्षण र आध्यात्मिक समाज निर्माणका लागि सबैलाई उत्प्रेरित गर्नु गराउनु नै हिन्दु धर्मको मुल लक्ष र उद्देश्य भएको बताए । अध्यक्ष डा. अधिकारीले भने, ‘हिन्दु धर्मले मानिस मानिसबीचको विभेद र हिंसालाई कहिल्यै स्वीकार गर्दैन । ’ 

    नेपाल सन्त समाजका केन्द्रिय अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले संसारमा रहेका सबै धर्म र सिद्धान्तहरुको माउ धर्म वा गुरुधर्म एक मात्र सनातन हिन्दु धर्म भएको दावी गरे ।

    भारत केरालाका सन्तमुनी घनश्याम स्वामी, नेपाली कांग्रेस रुपन्देहीका जिल्ला सभापति तथा तिलोत्तामा नगरपालिकाका प्रमुख रामकृष्ण खाण, धार्मिक चिन्तक डा. चिन्तामणी योगी, महासभा तयारी समितिका संयोजक तथा विश्व हिन्दु महासंघ रुपन्देहीका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठ, बिश्व हिन्दु महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता बेनबहादुर पौडेल क्षेत्रीलगायतले सनातन हिन्दु धर्मको संरक्षणबाट मात्र सभ्य समाजको निर्माणमा सघाउ पुग्ने बताए ।