मंगलवार , चैत्र २१, २०७९
भैरहवा, २१ चैत ।
बुटवल–पाल्पा सिद्धबावा सडक मंगलबार (आज) देखि अवरुद्ध हुने भएको छ । सिद्धबाबा सुरुङ मार्ग निर्माण व्यवसायी चाईना स्टेट कन्स्ट्रक्सन इ१िजनियरिङ कर्पोरेसनले रामा पिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको कार्य सुरु गरेकाले दैनिक दुईपटक दिउँसो र राती सडक अवरुद्ध हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताए ।
सुरुङमार्ग निर्माणका क्रममा सडक माथिबाट खुकुला ढुंगाहरु पहरोबाट झरी कार्य गर्न जोखिम भएकाले खुकुला ढुंगाहरु खसाल्न सडक यातायात आवागमन बन्द गर्ने निर्णय भएको र बन्दका समयमा वैकल्पिक सडक प्रयोग गर्न पनि प्रमुख जिल्ला अधिकारी पाण्डेले आग्रह गरेका छन् ।
सोमबार सरकोकारवाला निकायहरुसँगको बैठकले राष्ट्रिय महत्वको सुरुङ मार्ग निर्माणमा सहजीकरण गर्न आवश्यक देखिएकोले मंगलबार बिहान ११ बजे देखि अपरान्ह २ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म अर्को सूचना जारी नहुँदासम्म सवारीसाधन आवतजावत बन्द गरी सुरक्षित साथ कार्य गर्न स्वीकृति दिने निर्णय गरेको प्रजिअ पाण्डेले जानकारी दिए ।
सडक अवरुद्धका समयमा बेलवास–दोभान सडकखण्ड वैकल्पिक रुपमा प्रयोग गर्न पनि बैठकले आग्रह गरेको छ । साना तथा निजी गाडीहरु र अत्यावश्यक सवारीसाधनहरुलाई उक्त वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । साथै उक्त सडकलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार मर्मत कार्य गर्न परियोजनालाई आग्रह गरेको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेयको अध्यक्षतामा बसेको बैठकमा रुपन्देहीका सुरक्षा निकाय, यातायात व्यवसायी, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij