
सोमवार , चैत्र २०, २०७९
भैरहवा, २० चैत ।
पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका छन् । उनले जनताले सरकारको माध्यमबाट शिक्षा क्षेत्रमा दिइरहेको लगानीको पनि सदुपयोग गर्न जरुरी रहेको बताए । श्री पक्लिहवा माध्यमिक विद्यालय पक्लिहवा सिद्धार्थनगर–१, रुपन्देहीको ६४ औं स्थापना दिवस तथा अभिभावक भेला–२०७९ को सोमबार उद्घाटन गर्दै पूर्वमन्त्री खाणले अहिले शिक्षा क्षेत्रमा भइरहेको लगानीको अधिकतम प्रतिफल ल्याउनुपर्नेमा जोड दिए । उनले अपुग रकम सरकारले व्यवस्थापन गर्नुपर्ने बताए ।
आफ्नोतर्फबाट तीनै तहको सरकारलाई बजेट व्यवस्थापन गर्न आग्रह गर्ने विश्वास दिलाउन चाहन्छु, उनले भने,‘प्रधानमन्त्री र मन्त्री मात्रै सरकार नभइ प्रधानमन्त्रीदेखि मन्त्री, सचिव, प्रशासनका प्रमुख, सामाजिक, शैक्षिक क्षेत्र लगायत जहाँ हामी कार्यरत छौं, हामी सरकारको एउटा अभिन्न अंग हौं । ’
उनले प्रदेश सरकारबाट विद्यालयलाई उपलब्ध बस विद्यार्थीलाई विद्यालयसम्म लैजान र घरसम्म पुर्याउन सहयोग गर्ने बताए । उनले आवश्यक परे शिक्षक तथा कर्मचारीको लागि थप बसका लागि पहल गर्ने आश्वासन दिए ।
उनले विद्यालयले धेरै राम्रो नतिजा ल्याउन सफल भएको बताए । उनले परम्परागत शिक्षामा भन्दा डिजिटल तथा प्राविधिक खालको रोजगारीउन्मुख शिक्षा प्रणालीमा जोड दिनुपर्ने बताए ।
विद्यालयका सूचना तथा क्रियाकलाप अभिभावकलाई जानकारी दिन डिजिटलाइज्ड हुन जरुरी रहेको बताए । उनले विद्यार्थीको जीवन सुरक्षित बनाउन तथा मुलुक र जनताको लागि उपलब्धीमूलक बनाउनुपर्ने बताए ।
उनले भने, ‘विद्यार्थी कुनै पनि क्षेत्रमा अब्बल रहनेछन् र नेपालको भविष्यलाई अझै उज्जवल बनाउनेछन् । ’सरकारको अभिन्न अंगको रुपमा सबैले आफ्नो दायित्व निर्वाह गर्नैपर्ने उनले बताए । उनले भने, ‘हाम्रा थुप्रै कमीकमजोरी छन् । ती कमीकमजोरीलाई आत्मसात गर्नेपर्छ र सुधार्नैपर्छ । परिवर्तन अपरिहार्य छ । आवश्यक छ । सबैले आफूलाई परिवर्तित गर्न तयार पनि हुनुपर्छ । ’
अहिले आफू प्रतिनिधिसभा र मन्त्रीपरिषदमा नभए पनिसीमित व्यक्ति र मन्त्रीपरिषद मात्रै सरकार नभएको उनको भनाइ छ । सबैले आफ्नो भूमिकालाई गतिशिल बनाउन जरुरी रहेको नेता खाणले बताए । एकआपसमा सहयोगको भावना राख्न जरुरी रहेको उनको भनाइ छ । उनले भने, ‘सबै मिलेर अघि बढ्ने हो । देश बनाउने जिम्मा हामी सबैको हो । यो जिम्मा हाम्रो जीवनकालमा गर्नेछौं । त्यही प्रतिवद्धताका साथ अघि बढ्नु छ । ’
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले स्थानीय निर्वाचन र आम निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको खाणले बताइ । उनले निर्वाचनमा खट्ने सुरक्षाकर्मी, निर्वाचन आयोग, मतदाता सबैलाई धन्यवाद दिदै निर्वाचनको परिणामलाई आत्मसात गर्दै त्यसको आधारशिलामा सरकार बनाइएको बताए । उनले भने, ‘नेपाली कांग्रेस प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल हो । ठूलो दलको नेतृत्वमा सरकारमा सबै दललाई ल्याउने प्रयत्न थियो, तथापी त्यो प्रत्यन सफल हुन सकेन । हामी प्रतिपक्षमा हुँदाहुँदै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दियौं । विगतमा नेकपा (माओवादी केन्द्र) गठबन्धनकै साझेदार दल थियो । ’
नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन कांग्रेस र माओवादी केन्द्रबीच सहमति र सहकार्य हुन आवश्यक रहेको उनको भनाइ छ । सरकार बनाउने क्रममा कांग्रेसको प्रारम्भिक सहयोग नभएपनि पछि प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएपछि अर्को दल सरकारबाट बाहिरिएको र कांंग्रेस सरकारमा जाने अवस्थाको सिर्जना भएको खाणले बताए ।
संघीय सरकारमा कांग्रेसको उपस्थिति र सहभागीता रहेकाले आम नेपाली जनताको समस्या सम्बोधन गर्ने क्रममा मुलुकको विकास निर्माणका र शान्ति सुरक्षाका हाम्रो जिम्मेवारीमा छ, उनले भने, पछिल्लो समय मुलुकको अर्थतन्त्र ज्यादै नै चुनौतीपूर्ण रहेको छ । उद्योगी व्यवसायीले आफ्नो उद्योग व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था नरहेको र बैंकको ब्याज किस्ता तिर्न पनि नसक्नुभएको उनको भनाइ छ । उद्योग व्यवसाय र वित्तीय संस्थालाई जोगाउन र टिकाउन वर्तमान सरकारले नेतृत्व लिनुपर्ने र सबैलाई मिलाएर लैजानुपर्ने अवस्था रहेको उनले बताए । वर्तमान सरकारले वित्तीय संकटलाई सम्बोधन गर्न सक्छ भन्ने विश्वास रहेको खाणले बताए । कांग्रेस एउटा उदारवादी लोकतान्त्रिक पार्टी भएको उनको भनाइ छ ।
त्यस्तै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले राज्यले शिक्षा क्षेत्रमा धेरै लगानी गरेको बताइन् । उनले अभिभावकले आफ्ना बालबालिकाको निगरानी गर्नुपर्नेमा जोड दिइन । नगर उपप्रमुख अधिकारीले अभिभावकले विद्यार्थीहरुको चाहना नबुझी अनावश्यक दबाब दिन नहुने बताइन् ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष उज्जवल पोखरेलले विद्यार्थीहरुप्रति अभिभावकले चासो दिनुपर्नेमा जोड दिए । उनले भने, ‘अभिभावकमा चेतना आवश्यक छ ।’
श्री पक्लिहवा माध्यमिक विद्यालयका पूर्वविद्यार्थी तथा बाल बहिरा माध्यमिक विद्यालयका प्रधानाध्यापक भीम बहादुर थापाले पक्लिहवा माविले काचुली फेरेको बताए । उनले आफू यहाँसम्म पुग्नुमा विद्यालय र शिक्षकशिक्षिकाका ठूलो योगदान रहेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील गुरुङको अध्यक्षता, पूर्व गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यता तथा शिक्षिका शान्ति थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बसन्त कुमार बस्नेतले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विभिन्न कक्षामा अध्ययनरत छात्रा–छात्राहरुले विभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए ।सोही अवसरमा विद्यालयले लुम्बिनी प्रदेश सरकारको सहयोगमा प्राप्त स्कुल बसको उद्घाटन तथा वर्ष २०८० को लागि प्रकाशन गरेको भित्तेपात्रोको पनि विमोचन गरिएको शिक्षक भरत गिरीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij