सोमवार , चैत्र २०, २०७९
बुटवल, २० चैत । मंगलबारदेखि बुटवल–पाल्पा सडकखण्ड दैनिक ९ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्ने कार्य सुरु हुने भएकाले सिद्धार्थ राजमार्ग दैनिक ९ घण्टा बन्द हुन लागेको हो ।
सो सडकखण्ड अन्तर्गतको रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको निर्माण कार्य सुरु गरेपछि दैनिक दुईवटा सिफ्टमा सडक बन्द गरेर आयोजनाको कार्य अघि बढाउन खोजिएको हो । निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेशनका अनुसार सो खण्डमा माथिबाट खुकुला ढुंगाहरु खस्ने हुँदा सडक सुचारू गर्दा जोखिम हुने भएकाले हरेक दिन बिहान ११ देखि दिउँसो २ बजे तथा रातको १० देखि बिहान ४ बजेसम्म सडक बन्द गरिन लागिएको हो ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा आइतबार बसेको राजमार्ग सुरक्षा समितिको बैठकले काम सम्पन्न नभएसम्म सो सडकखण्ड निमार्णस्थल वरपर आउजाऊमा समेत रोक लगाइएको छ । अर्को सूचना जारी नभएसम्म बन्द सो सडकखण्ड बन्द रहने जारी सूचनामा भनिएको छ । साथै, एम्बुलेन्स, पेट्रोलियम पदार्थ बोक्ने टयांकरलगायत अत्यावश्यक सवारीसाधन सञ्चालनमा भने अवरोध नहुने सो बैठकको निर्णय छ । सोही निर्णयअनुसार सो सडक दैनिक ९ घण्टा बन्द गरिन लागेको सार्वजनिक सूचना जारी गरिएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij