२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

चैत २३ गते लुम्बिनी पिस हाफ म्याराथन प्रतियोगिता हुँदै

शनिवार , चैत्र १८, २०७९

भैरहवा, १८ चैत ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा यही चैत २३ गते बिहीबार ‘लुम्बिनी पिस ओपन महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिता’ हुने भएको छ । अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसर पारेर ‘शान्ति र समृद्धिका लागि खेलकुद’ भन्ने मूल नाराका साथ लुम्बिनीमा राष्ट्रिय भेला र हाफ म्याराथन प्रतियोगिता आयोजना गर्न लागिएको एकेडेमीले शनिबार रुपन्देहीको तिलोत्तमामा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

प्रतियोगितामा नेपालका जुनसुकै जिल्लाका खेलाडी सहभागी हुन पाउने मदन भण्डारी स्पोर्टस् एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए । म्याराथनमा सहभागी हुन चाहने खेलाडीले चैत २० गतेसम्म नाम दर्ता गराउनुपर्ने आचार्यले बताए । खेलाडीको स्वास्थ्य (मेडिकल) परीक्षण चैत २२ गते गरिने उनले जानकारी दिए । जिल्लाबाहिरका खेलाडीहरुलाई आवासको व्यवस्था गरिएको आचार्यले जानकारी दिए । हाफ् म्याराथनको दुरी २१ किलोमिटर रहने उनले बताए ।

प्रतियोगितामा (पुरुषतर्फ) प्रथम पुरस्कार रु. १ लाख ५० हजार, द्वितीय पुरस्कार रु. ७५ हजार, तृतीय पुरस्कार रु. ५० हजार, चौथो रु. ३० हजार, पाँचौ रु. २० हजार, छैठौं रु. १० हजार, सातौं रु. ७ हजार, आठौं, नवौं र दशौं पुरस्कार रु. ५/५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएका छन् ।

त्यस्तै प्रतियोगितामा (महिलातर्फ) प्रथम पुरस्कार रु. १ लाख ५१ हजार, द्वितीय पुरस्कार रु. ७५ हजार, तृतीय पुरस्कार रु. ५० हजार, चौथो रु. ३० हजार, पाँचौ रु. २० हजार, छैठौं रु. १० हजार, सातौं रु. ७ हजार, आठौं, नवौं र दशौं पुरस्कार रु. ५/५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक मोहन बहादुर घलेले बताए ।

लुम्बिनी अन्तर्राष्ट्रिय सभाहल तथा मेडिटेसन सेन्टरबाट बिहान बिहान ठीक ७ बजे सुरु हुने प्रतियोगिताको मदन भण्डारी स्पोर्टस् एकेडेमीका संरक्षक, पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने आचार्यले बताए । प्रतियोगिताको उद्घाटन समारोह पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता तथा पूर्व उपप्रधान, अर्थ तथा खेलकुद मन्त्री एवं एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेलको विशिष्ट आतिथ्यतामा हुने एकेडेमीले जनाएको छ ।

त्यस्तै मदन भण्डारी स्पोर्टस् एकेडेमीको राष्ट्रिय भेला पनि चैत २३ गते हुने भएको छ । बिहान ११ बजेदेखि सुरु हुने भेलाको पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गरिने एकेडेमीले जनाएको छ । 

भेलामा जिल्ला र पालिका कमिटीका पदाधिकारी घोषणा, विभिन्न खेल विधाको प्रस्तुति र विभिन्न कला संस्कृति झल्किने नृत्य प्रदर्शन हुने अध्यक्ष ध्रुव आचार्यले बताए । ‘राष्टिय भेलामा ३ हजार ५ सय बढी खेलाडीको सहभागीता हुनेछ, उनले भने, ‘शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा कार्यक्रम गर्दछौं । खेल र पर्यटनबीच पनि सम्बन्ध छ ।’

‘सबैका लागि खेल’ भन्ने नारासहित मदन भण्डारी स्पोर्टस् एकेडेमी २०६६ पुस १७ गते स्थापना भएको हो । तत्कालिन एमाले महासचिव मदन भण्डारीको स्मृतिमा उनको भावना समेट्ने गरी मदन भण्डारी फाउण्डेशनले एकेडेमी स्थापना गरेको हो । स्थापनापछि यसले राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिता र खेल गतिविधि गरिरहेको अध्यक्ष आचार्यले बताए ।