२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

औषधि व्यवसायी संघ रुपन्देहीको चौथो साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न

शनिवार , चैत्र १८, २०७९

बुटवल, १८ चैत ।
नेपाल औषधि व्यवसायी संघ रुपन्देही शाखाको चौथो साधारणसभा तथा दोस्रो अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ । कार्यक्रमको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री बिष्णु प्रसाद पन्थीले उद्घाटन गर्दै आम नागरिकको उपचारमा औषधि उत्पादक, डिलर, थोकखुद्रा विक्रेता, चिकित्सक सबैको आ–आफ्नो भूमिका र महत्व रहेको बताए । व्यवसायिक हकहितको विषयमा संस्थागत पहल गर्ने मात्र नभइ उपभोक्तामैत्री सेवा गर्न उनले सुझाव दिए । सरकारी अस्पतालसहित सबै अस्पतालमा फार्मेसी काउन्सिलर अनिवार्य गर्ने प्रदेश सरकारले निर्णय गरेको उनले बताए । 

कार्यक्रममा रुपन्देही प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले औषधि विशेष प्रकृतिको व्यवसाय भएको बताए । 

कार्यक्रममा संघका अध्यक्ष सुरज भट्टराईले आर्थिक वर्षको प्रगति विवरण पेश गर्दै व्यवसायिक हकहितसँगै समाजमा औषधिको सही प्रयोगबारे सचेतना कार्यक्रममा जोड दिएको बताए । वर्षभरी नै व्यवसायीहरुलाई सीप अभिवृद्धि तालिमहरु सञ्चालन गरेको उनले बताए । 

कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेल, औषधि व्यवस्था विभागका वरिष्ठ अधिकृत सन्जिव शर्मा कट्टेल, नेपाल औषधी व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवाली, संघका उपाध्यक्ष खड्ग बहादुर बस्नेत, संघका विशेष सल्लाहकार बाबुराम भट्टराई, रोहितराज क्षेत्री, नेपाल औषधि व्यवसायी संघ केन्द्रका (खुद्रा) रामप्रसाद खरेल, उपाध्यक्ष (थोक) सुनिल श्रेष्ठ, नेपाल औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवाली, दाङ शाखाका अध्यक्ष विष्णु प्रसाद पौडेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले मानव जीवनसँग प्रत्यक्ष जोडिएको व्यवसाय हुँदा विशेष सतर्कता अपनाउनुपर्ने बताए ।

कार्यक्रममा विशिष्ट उत्कृष्ट औषधी व्यवसायी तेजराज राजभण्डारी, असल औषधी ब्यवसायी खुद्रातर्फ निश्चल फार्मेसीका पवित्रा पन्थी र थोक खेम इन्टरप्राईजेजका ओमी पुनलाई सम्मान गरिएको थियो । स्वास्थ्य पत्रकारिताबाट पत्रकार विकास पराजुली र संघका कार्यसमिति सदस्य कृष्ण शर्मा पोखरेललाई सम्मानित गरिएको महासचिव पुरुषोत्तम भट्टराईले बताए ।