२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

रामजानकी मन्दिर ओमसतिया–२ को १३ औं साधारणसभा सम्पन्न

शनिवार , चैत्र १८, २०७९

भैरहवा, १८ चैत । 
रामजानकी मन्दिर ओमसतिया गाउँपालिका–२, रुपन्देहीको १३ औं वार्षिक साधारणसभा शनिबार पडसरीमा सम्पन्न भएको छ । समितिका अध्यक्ष रामचन्द्र उपाध्यायको अध्यक्षता तथा ओमसतिया गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरुले पछिल्लो समय धर्मकर्मप्रति घट्दो आकर्षणबारे चिन्ता व्यक्त गरेका थिए । पछिल्लो पुस्तालाइ धर्मकर्ममा लाग्न प्रेरित गरी धर्म र संस्कृतिको जर्गेना गर्नुपर्ने उनीहरुको धारणा थियो । 

साधारणसभामा बोल्दै गाउँपालिका उपाध्यक्ष चौधरीले धर्मकर्मको जर्गेनामा गाउँपालिकाले प्राथमिकता दिएको बताउँदै सबैले धर्म र संस्कृतिको जर्गेना गरी भावी सन्ततिलाई धर्मकर्ममा लाग्न परिवारबाटै भूमिका खेल्नुपर्ने बताइन् । उनले मन्दिर व्यवस्थापनको लागि गाउपालिकाको तर्फबाट कुनै कमि नहुने समेत उनले प्रतिबद्धता व्यक्त गरेकी थिइन् । 

कार्यक्रममा बोल्दै सचेतना आमा समूहकी अध्यक्ष सीता न्यौपाने, दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर घर्ती, सचिव कृष्णकान्त शर्मा, कोषाध्यक्ष अशोक थापा, रामजानकी मन्दिरका विशिष्ट सदस्यहरु दण्डपाणी खनाल, मीना भण्डारी, विष्णु मरासिनी, रामु काफ्ले, कर्णध्वज मल्ल, मन्दिर भवन निर्माण समितिका संयोजक रुद्र प्रसाद शर्मा लगायतले पछिल्लो समय धर्म संस्कृतिमाथि प्रहार हुँदै गएकोले यसको जर्गेना गर्नुपर्नेमा जोड दिएका थिए । 

कार्यक्रममा अध्यक्ष र कोषध्यक्ष द्वारा प्रस्तुत प्रतिवेदनहरु बहुमतले पारित गरिएको थियो । मन्दिरमा १० हजार रुपैयाँ भन्दा बढी सहयोग गर्ने विशिष्ट सदस्य संख्या ७१ जना र संस्थागत सदस्य संख्या १४ जना रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र उपाध्यायले जानकारी दिए । मन्दिरको दैनिक पुजा खर्च व्यवस्थापनको लागि प्रतिव्यक्ति प्रतिदिन ५ रुपैयाँको दरले जो कोहीले सहयोग गर्न सक्ने समितिका सचिव खडानन्द अधिकारिले बताए ।