२०८२, चैत्र २५ गते

Apr 08 2026 | २०८२, चैत्र २५ गते

मिडियाको भूमिका खबरदारी गर्ने हुनुपर्छ : मन्त्री शर्मा 

शुक्रवार , चैत्र १७, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • रूपन्देही, १७ चैत । 
    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडियाको भूमिका खवरदारी गर्ने खालको हुनुपर्ने बताएकी छन् । नेपाल पत्रकार महासंघले लुम्बिनीमा आयोजना गरेको राष्ट्रिय मिडिया सम्मेलन–२०७९ को उद्घाटन गर्दै मन्त्री शर्माले कानून कार्यान्वयनलाई प्रभावकारी बनाउनको लागि पनि मिडिया क्षेत्रले भूमिका खेल्नुपर्ने बताइन् । 
    उनले सरकारले नागरिकलाई दिने सेवामा सुधार, ऐन कानुन निर्माण र सत्य निरुपण तथा मेलमिलापको कामलाई अगाडि बढाउने काममा लागि परेको पनि जानकारी दिइन् । 

    उनले मिडिया तथा पत्रकारिता क्षत्रमा सरकारले गर्नुपर्ने कुराहरु के के हुन्, महिलालाई कसरी नेतृत्वमा ल्याउन सकिन्छ, गहन छलफल गरेर सुझाव दिन आग्रह गरिन् । मन्त्री शर्माले दुरसञ्चार ऐनको अवधारणापत्र स्वीकृत भई निर्माणका क्रममा रहेको पनि जानकारी दिइन् । 

    राष्ट्रिय मिडिया सम्मेलनमा सदस्यता शुद्धिकरण, पत्रकारका समस्या र मिडियामा देखिएको आर्थिक संकट तथा पत्रकारितासँग सम्बन्धित कानुनका विषयमा प्यानलवाईज छलफल गरिने महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिए । सम्मेलनमा १४० शाखाका अध्यक्ष, प्रदेश समितिका अध्यक्ष र महासचिव, केन्द्रीय समिति तथा सल्लाहकारहरु, मिडिया क्षेत्रका विज्ञ, प्रतिनीधिमूलक रुपमा मिडियाका लगानीकर्ता र सरकारी निकायका प्रतिनिधिहरु गरी २५० जना भन्दा बढीको सहभागिता रहेको उनले जानकारी दिइन् ।

    महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले महासंघले सञ्चालन गर्ने अभियानलाई यो सम्मेलनले दिशा निर्देश गर्ने अपेक्षा गरिएको बताए । 

    कार्यक्रममा महासंघका सल्लाहकाहरु महेन्द्र विष्ट, गोविन्द आचार्य, निर्मला शर्मा, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय, लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार तिलकराम आचार्य, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । 

    त्यसअवसरमा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा (जुगल), समाजवादी प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष विश्वमणी सुवेदी, नेपाल पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष वसन्त गिरी, रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले महासंघले अगाडि सारेको सदस्यता शुद्वीकरणलाई प्रभावकारी कार्यान्वयनमा जोड दिइन् । कार्यक्रम महासंघका महासचिव रोशन पुरीको सञ्चालनमा भएको थियो ।