२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

देवदहमा महिला स्वास्थ्य स्वयंसेविकाका लागि नेतृत्व विकासमा आधारित तालिम सम्पन्न

शुक्रवार , चैत्र १७, २०७९

भैरहवा, १७ चैत ।

प्रतिमान नीमा स्मृति प्रतिष्ठान सिद्धार्थनगर नगरपालिका–३, रुपन्देहीको आयोजना तथा अमेरिका नेपाल मेडिकल फाउण्डेशनको सहयोगमा महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि पाँचदिने तालिम देवदह नगरपालिकामा सम्पन्न भएको छ । चैत १२ गतेदेखि सुरु भएको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका आधारभूत रोग निगरानी र नेतृत्व विकासमा आधारित तालिम चैत १६ गते (बिहीबार) एक कार्यक्रमकाबीच समापन गरिएको हो ।

तालिममा ३० जनाको सहभागीता रहेको प्रतिमान–नीमा स्मृति प्रतिष्ठानका निर्देशक धर्म बहादुर के.सी.ले बताए । उनले महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता अभिवृद्धिका लागि तालिम आयोजना गरिएका बताए । उनले भने, ‘सिकेका कुरालाई व्यवहारमा उतार्नुहुन्छ भन्ने कुरा महत्वपूर्ण हो । ’ प्रतिष्ठानले कोभिड–१९ महामारीमा विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री प्रदान गर्नुका साथै विभिन्न तालिम समेत आयोजना गर्दै आएको उनको भनाइ छ ।

तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले तालिम सफलतापूर्वक सम्पन्न भएको बताए । उनले महिला स्वास्थ्य स्वंयसेविकाले सिक्ने कुरा जनताका लागि महत्वपूर्ण हुने बताए । उनले भने, ‘महिला स्वास्थ्य स्वयंसेविकाहरुले निरन्तर समाजमा काम गरिरहनुभएको छ । उहाँहरुका पनि पीडा र दुःख छन् । हामीले उहाँहरुको दुःख पीडा बुझेका छौं । धेरै ठाउँमा कुरा उठाएका छौं ।’

तालिमको प्रमुख प्रशिक्षक तथा स्वास्थ्य कार्यालय, रुपन्देहीकी पब्लिक हेल्थ नर्स अधिकृत कालिका भण्डारीले तालिममा महिला स्वास्थ्य स्वयंसेविका अग्रसरताका साथ सहभागी हुनु भएको बताइ्न् । उनले भनिन्, ‘तालिममा सोधिएका प्रश्नहरुको सहज रुपमा जवाफ आएको छ । यसले पनि हामी बुझ्न सक्छौं, उहाँहरुको सहभागीता उत्साहजनक रहेको छ । ’उनले तालिमको आयोजना गर्ने प्रतिमान नीमा स्मृति प्रतिष्ठानलाई धन्यवाद व्यक्त गरिन् ।

देवदह नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख काशीनाथ बञ्जाडेले महिला स्वास्थ्य स्वयंसेविकाका योगदान महत्वपूर्ण रहेको बताए । उनले तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्न आग्रह गरे ।

तालिमको सहभागीकोतर्फबाट बोल्दै इन्दिरा पाण्डेले पाँचदिने तालिम एकदमै राम्रो भएको बताइन् । उनले यो तालिममा निदाउने र निराश हुने अवस्था नै नरहेको बताइन् । उनले तालिममा सहभागी हुन पाउँदा खुसीको अनुभुति भएको बताइन् ।

प्रतिमान नीमा स्मृति प्रतिष्ठानका कार्यक्रम संयोजक ऋषिराम पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।