बुधवार , चैत्र १५, २०७९
बुटवल, १५ चैत ।
विश्व हिन्दु महासंघ, नेपाल राष्ट्रिय समितिको आठौं महासभा तथा अधिवेशन आगामी चैत २१ र २२ गते पश्चिम नवलपरासीको भुमही र बुटवलमा सम्पन्न हुने भएको छ । नेपाललाई सनातन हिन्दु राष्ट्र घोषणाको मागलाई विश्वव्यापी बनाउने अभियानसहित पहिलो दिनको महासभा भुमहीस्थित हिन्दु महासंघको केन्द्रिय भवन निर्माणस्थलमा आयोजना गरिँदै छ भने दोस्रो दिनको अधिवेशनलगायत बन्दसत्र बुटवलमा गर्ने निर्णय गएिको छ ।
आठौं महासभा तथा अधिवेशन भव्य रुपमा सम्पन्न गर्न आयोजित तयारी समितिको बुधबार बुटवलमा बसेको बैठकलाई सम्बोधन गर्दै विश्व हिन्दु महासंघ नेपालका अध्यक्ष डा. रामचन्द्र अधिकारीले नेपाल सनातन हिन्दु राष्ट्र घोषणा भएरै छाड्ने दृढता व्यक्त गरे । जनताको चाहना र भावनाविपरीत अनावश्यक रुपमा नेपालमा धर्मनिरपेक्षता जबरजस्ती लादिएको दावी गर्दै नेपाललाई राजनैतिक र सामाजिक रुपमा स्थिरता र मौलिक विकासका लागि सनातन हिन्दु राष्ट्र नेपाल घोषणा हुनपर्ने बताए ।
नेपाल राष्ट्रिय समितिका उपाध्यक्ष तथा लुम्बिनी प्रदेश अध्यक्ष बेनबहादुर पौडेल क्षेत्रीले विश्व हिन्दु महासंघको अभियानलाई साकार पार्न जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहेको उल्लेख गर्दै राष्ट्र विरोधी देशी विदेशी शक्तिको इसारामा मुलुकलाई अराजकता र अस्थिरतातर्फ धकेल्ने काम भइरहेको आरोप लगाए । केन्द्रिय उपाध्यक्ष दधिराम शर्मा बस्याल, सचिव देवराज भण्डारी, केन्द्रिय सदस्य तथा वडाअध्यक्ष डिल्लीप्रसाद आचार्य, मूल आयोजक समितिका संयोजक तथा महासंघका जिल्ला अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठ, प्राध्यापक डा. बाबुराम ज्ञवाली, बुटवलका पूर्व नगरप्रमुख पुनाराम पोखरेल, पूर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापालगायतले विश्व हिन्दु महासंघले उठाएका मुद्दाहरुका बारेमा चर्चा गरेका थिए ।
महासभा तथा अधिवेशनमा देशभरबाट करिब १ हजार ३ सय प्रतिनिधि तथा पर्यवेक्षकहरु र विदेशबाट समेत अतिथि र प्रतिनिधिहरु सहभागी हुने वरिष्ठ अधिवक्ता बेनबहादुर पौडेलले बताए । पश्चिम नवलपरासीको भुमहीमा केन्द्रिय भवन लगायतका संरचना निर्माण गरिने उल्लेख गर्दै पौडेलले बन्दसत्र र अधिवेशन लगायतका कार्यक्रमहरु बुटवलमा सम्पन्न हुने बताए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij