
आइतवार , चैत्र १२, २०७९
रुपन्देही, १२ चैत ।
नेपाल भेटेरिनरी एशोसिएसन–लुम्बिनी प्रदेश समितिको तेस्रो साधारणसभा तथा अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले पशु चिकित्सक डा. युवराज पन्थको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । एशोसिएसनको उपाध्यक्षमा डा. सुमन कुमार सिंह, सचिवमा डा. भरत काफ्ले, सह–सचिवमा डा. अविनाश क्षेत्री र कोषाध्यक्षमा डा. अशोक पराजुली निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा डा.मदन भण्डारी, डा. कृष्णा खडका, डा. सुमित सिंह जि.सी., डा.केशव लम्साल, डा. पवन पाण्डे र डा. माधव रावत निर्वाचित भएका छन् ।
युवाहरुको नेतृत्वमा बनेको नयाँ कार्यसमितिका सदस्यहरु उर्जाशिल भएको नवनिर्वाचित सचिव डा. भारत काफ्लेको भनाइ छ । प्रदेशका सम्पूर्ण पशु चिकित्सकहरुको विभिन्न नवीन प्राविधिक सीप विकास गरी पशु पालन क्षेत्रलाई वैज्ञानिक ढंगले प्रवद्र्धन गर्न कार्यसमितिले अहोरात्र खटिने प्रतिवद्धता व्यक्त गरेको छ ।
नवनिर्वाचित कार्यसमितिले सरकारी, गैरसरकारी, निजी क्षेत्रमा रहेका सम्पूर्ण लुम्बिनी प्रदेशका पशु चिकित्सकको हकहितका लागि काम गर्ने नवनिर्वाचित अध्यक्ष डा. युवराज पन्थले बताए ।
नेपाल भेटेरिनरी एशोसिएसन प्रादेशिक समितिका अध्यक्ष पशु चिकित्सक डा. बसन्त आचार्यको सभापतित्व तथा एशोसिएसनका केन्द्रीय अध्यक्ष पशु चिकित्सक डा. शीतल काजी श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । नेपाल भेटेरिनरी एशोसिएसन देशभित्र र देशबाहिर छरिएर रहेका पशु चिकित्सकहरुको पेशागत हकहित र मर्यादाको संरक्षण र सम्वद्र्धन गर्नका लागि स्थापित छाता संगठन हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij