images

शुक्रवार, बैशाख १४ गते २०८१

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : हवाई रुटका लागि पहल गरिदिन माग

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : हवाई रुटका लागि पहल गरिदिन माग

images
images
images
शुक्रवार, चैत्र १० २०७९
शुक्रवार, चैत्र १० २०७९
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : हवाई रुटका लागि पहल गरिदिन माग

    भैरहवा, १० चैत ।
    उद्योगी–व्यवसायीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई मार्ग (हवाई रुट) का लागि भारत सरकारसँग पहल गरिदिन माग गरेका छन् । उनीहरुले भारतबाट हवाई रुटको अनुमति नपाउँदा विमानस्थल पूर्ण रुपमा सञ्चालनमा कठिनाइ भएको गुनासो गरेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जहाजले पनि सिमराबाटै प्रवेश गर्नुपर्ने हुन्छ । जसले गर्दा विमानस्थल सञ्चालनमा समस्या भइरहेको उद्योगी व्यवसायीको भनाइ छ ।

    images

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही र नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशले बुधबार भैरहवामा आयोजना गरेको भारतीय रक्षा मञ्चका संयोजक सूर्यकान्त केलकरसहित प्रतिनिधिहरुको स्वागत, भेटघाट तथा छलफल कार्यक्रममा उद्योगी–व्यवसायीले यस्तो माग गरेका हुन् ।

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेश कुमार अग्रवालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरणका लागि भारतको गोरखपुरमा रहेको सैनिक हवाइ अड्डा पर्ने भएको र सुरक्षाको कारण हवाई रुट नदिइएको भन्ने सुन्नमा आएकाले हवाई रुट उपलब्ध गराउनका लागि पहल गरिदिन आग्रह गरे । उनले भने, ‘यति ठूलो संरचना बनिसकेको छ, विमानस्थलको सम्भावना देखेर पर्यटन क्षेत्रमा ठूलो लगानी गरिएको छ ।’ हवाई उडान न्यून मात्रामा भएकाले पर्यटकहरु आउन नसकेको उनको भनाइ थियो । नेपालमा भारतबाट सामान आयात र नेपालबाट भारतमा निर्यात हुने गरेको र यो उपयुक्त रहेको उनले बताए । नेपाल र भारतबीच बलियो सम्बन्ध रहेको उनले बताए ।

    त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुल प्रसाद न्यौपानेले हवाई रुटका लागि सरकारले उच्चस्तरीय कुटनीतिक पहल गरिरहेको र उद्योगी व्यवसायीहरुले पनि विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि आवाज उठाउँदै आएको बताए । उनले भने, ‘विमानस्थल पूर्ण रुपमा सञ्चालनमा नआए निजी क्षेत्रले गरेको लगानी डुब्छ । ’ नेपालको विकासमा छिमेकी मुलुकको रचनात्मक साथ र सहयोग सदैव आवश्यक रहेको उनको भनाइ छ । उनले एकीकृत भन्सार जाँच चौकी (आईसिपी) निर्माण कार्यलाई दु्रत गतिमा अगाडी बढाउनुपर्नेमा जोड दिए । उपाध्यक्ष न्यौपानेले भारतीय पर्यटकले नेपालमा ल्याउने भारु रुपैयाँको सीमालाई बढाए पर्यटकले पैसा धेरै खर्च गर्न सक्ने बताए । 

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका पूर्वअध्यक्ष तथा सल्लाहकार विष्णु प्रसाद शर्माले धार्मिक पर्यटन प्रवद्र्धन कुरामा मात्र सीमित भएको गुनासो गरे । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई रुटका लागि पहल गरिदिन आग्रह गरे । उनले भने, ‘राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको विमानस्थल सञ्चालनसँग यस क्षेत्रमा होटल निर्माणमा अरबौं लगानी गरिएको छ, विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउन नसके निजी क्षेत्रको लगानी डुब्छ । ’ उनले धार्मिक पर्यटनमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । शर्माले आईसिपी धेरै वर्षपछि निर्माण सुरु भएको र यसलाई छिटो भन्दा छिटो निर्माणसम्पन्न गर्नुपर्ने बताए ।

    संविधानसभा सदस्य तथा नेपाल रक्षा मञ्चका अध्यक्ष हरिचरण शाहले नेपाल र भारत मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

    भारत रक्षा मञ्चकी सदस्य शीतल राँजेले हस्पिटालिटी क्षेत्रमा सम्भावना रहेको बताइन् । उनले कुनै पनि काम गर्न योजना बनाएर अघि बढ्नुपर्ने बताइन् ।

    भारत रक्षा मञ्चका राष्ट्रिय कार्यकारी अध्यक्ष डा. भूषण दीवानले दुई मित्रराष्ट नेपाल र भारतबीच केही विषयमा असमझदारी भए त्यसलाई समाधान गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । उनले पर्यटकीय स्थलको विकासमा जोड दिनुपर्ने बताए ।

    मञ्चका राष्टिय संयोजक सूर्यकान्त केलकरले धर्मको कारण समाजमा नैतिकता रहेको बताए । उनले भने, ‘आफ्नो धर्मलाई मजबुत बनाउनुपर्छ । ’केलकरले नेपाल र भारतबीच सम्बन्ध अझ मजबुत बनाउनुपर्नेमा जोड दिए । 

    सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष नेत्र प्रसाद आचार्यको अध्यक्षता, भारत रक्षा मञ्चका राष्टिय संयोजक सूर्यकान्त केलकरको प्रमुख आतिथ्यता तथा संघका सचिव मंगल भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा संघका कर्पोरेट उपाध्यक्ष रोहित कुमार अग्रवाल, कार्यसमिति सदस्य दिनेशमान अमात्य, गणेश उपाध्याय लगायतले बोलेका थिए ।  

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij