
सोमवार , पौष २०, २०७७
बुटवल, २० पुस ।
बालबालिकाको क्षेत्रमा काम गर्दै आएको ‘किवानिज क्लब अफ रुपन्देही लुम्बिनी’ले सरकारी विद्यालयमा अध्ययन गर्ने बालबालिकाको शिक्षाको गुणस्तर सुधारको लागि ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ ।
सोही अन्तर्गत हालै क्लबले गुल्मी जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ७ जुनियामा रहेको ‘जुनिया माध्यमिक विद्यालय’ मा इन्टरनेज लञ्चिङ् गरेको छ । विद्यार्थीमा नियमित पठनपाठनसंगै अतिरिक्त ज्ञानको विकासको लागि ईन्टरनेट लञ्चिङ् गरिएको क्लबका अध्यक्ष प्रमोद थापाले बताए । ‘अझै पनि ग्रामीण बालबालिका इन्टरनेटको पहुँचमा छैनन् ।’ उनले भने–‘नियमित पठनपाठनसंगै बालबालिकामा अतिरिक्त ज्ञानको विकासको लागि ग्रामीण क्षेत्रका विद्यालय छनौट गरिएको हो ।’
‘सर्भिङ द चिल्ड्रेन अफ द वर्ड’ भन्ने नारासहित सञ्चालित क्लबले बालबालिकाको शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको छ ।
सोही अनुसार क्लबले दुरदराजका समेत विद्यालय छनौट गरेर ती विद्यालयमा अध्ययन गर्ने बालबालिकाको शैक्षिक गुणस्तर सुधारको लागि बालबालिकालाई विद्यालय पठाउनुपर्छ भन्ने अभिभावकलाई ज्ञान प्रदान गर्ने गरी कार्यक्रम सञ्चालन गरिएको उनले बताए । त्यस्तै उनीहरुमा अतिरिक्त ज्ञानको विकासका लागि खेलकुदका सामाग्री, विद्यालय पोशाक, झोला, कापी तथा कलम लगायतका शैक्षिक सामाग्री समेत प्रदान गर्दै आएको छ ।
बालबालिकाको शैक्षिक गुणस्तर सुधारको लागि क्लबले गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ७ मा रहेका जुनिया माध्यमिक विद्यालय, चिदिपानी माध्यमिक विद्यालय र हेमन्त आधारभूत विद्यालय तथा रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ बाह्र नम्बरमा रहेको मिदिनी आधारभूत बिद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको क्लबका संस्थापक अध्यक्ष दिपेश शाहीले जानकारी दिए । त्यस्तै क्लबले तिलोत्तमाकै सगरमाथा आधारभूत विद्यालय र सरस्वती माध्यमिक विद्यालयमा समेत शैक्षिक कार्यक्रम सञ्चालनको तयारी गरिएको क्लबका निवर्तमान अध्यक्ष सुरज पंगेनीले जानकारी दिए । शैक्षिक गुणस्तरको लागि बालबालिकामा अतिरिक्त ज्ञान अनिवार्य भएको बताउँदै उनले बालबालिकाको अतिरिक्त ज्ञानको क्षमता विकास गर्नकै लागि क्लबले सुविधाको पहुँच भन्दा टाढा रहेका विद्यालय छनौट गरिएको बताए ।
विगत ४ वर्षदेखि कार्यक्रम सञ्चालन भएको हेमन्त आधारभूत विद्यालयका प्रधानाध्यापक दण्डपाणी ढकालले क्लबले कार्यक्रम सञ्चालन गरे यता विद्यार्थीको शैक्षिक गुणस्तरमा सुधार आउनुको साथै विद्यार्थी विद्यालय आउने क्रम र विद्यार्थी संख्या समेत बढेको बताए । कक्षा ३ सम्म अध्ययन हुने उक्त विद्यालयमा सत्यवती गाउँपालिकाभित्रका आधारभुत विद्यालयमध्ये सबैभन्दा धेरै ३४ जना विद्यार्थी अध्ययन गर्छन् । क्लबले कार्यक्रम सञ्चालन गरेपछि बालबालिका धेरै खुशी भएको र उनीहरुको मनोविज्ञानमा समेत सकारात्मक प्रभाव परेको उक्त विद्यालयकी शिक्षिका ईन्द्रा ढकालले बताइन् । त्यस्तै बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष पृथबहादुर बुढाथोकीले अभिभावकलाई समेत सकारात्मक प्रभाव परेको औंल्याए ।
यता जुनिया माध्यममिक बिद्यालयका प्रधानाध्यापक केशवराज भट्टराईले विद्यालयले प्राथमिक आवश्यकताको सूचीमा छनौट गरेर विद्यालय व्यवस्थापन समितिमा प्रस्ताव लैजाने तयारी भएको बेला क्लबले ईन्टरनेट जडान गरी आवश्यकता परिपूर्ति गरेकोमा धन्यवाद ज्ञापन गरे । त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण बहादुर शाहीले इन्टनेट जडानसंगै बिद्यार्थीको अतिरिक्त सिकाईमा यसले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
क्लबले सुगम क्षेत्रमा मात्रै नभएर दुर्गम ग्रामीण क्षेत्रका विद्यालयमा समेत पुगेर नियमित कार्यक्रम सञ्चालन गर्नु आफैमा स्रहानीय काम भएको बताउँदै नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार खिमानन्द भट्टराईले यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । किवानिज क्लवका डिष्ट्रिक्ट गभर्नर दिपक भण्डारीले नेपालभरीका क्लबहरुमध्ये किवानिज क्लब अफ रुपन्देही लुम्बिनीले तुलनात्मक रुपमा धेरै र प्रभावकारी काम गरेको औंल्याए । क्लबका पूर्व अध्यक्ष समेत रहेका भण्डारीले आगामी दिनमा समेत यी कार्यक्रमलाई निरन्तरता दिन र थप रचनात्मक कार्यक्रमको लागि सुझाव दिए ।
ईन्टरनेट लञ्चिङ्, खेलकुदका सामाग्री तथा शैक्षिक सामाग्री प्रदान गर्नको लागि क्लबका उपाध्यक्षद्वय अमन श्रेष्ठ, मनोज आचार्य तथा क्लबका पदाधिकारी सदस्यहरुको टोली हालै गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ७ जुनिया पुगको थियो । त्यस अवसरमा ती विद्यालयहरुले क्लबलाई प्रशंसा–पत्र समेत प्रदान गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij