२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

ओमसतिया गाउँपालिका अध्यक्ष र उपाध्यक्षद्वारा विभिन्न विद्यालयमा अनुगमन

सोमवार , चैत्र ६, २०७९

भैरहवा, ६ चैत । 
रुपन्देहीको ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव (सोनु) र उपाध्यक्ष सुनिता चौधरीले गाउँपालिकामा रहेका विभिन्न सामूदायिक विद्यालयमा पुगेर अनुगमन तथा निरीक्षण गरेका छन् । ओमसतिया गाउँपालिकामा जारी रहेको गाउँपालिकास्तरीय कक्षा ८ को परीक्षा केन्द्रहरुमा अध्यक्ष यादव र उपाध्यक्ष सुनिता चौधरीको अलगअलग टीमले अनुगमन गरेका हुन् ।

विद्यालयको वास्तविकता थाहा हुने र सुधार गर्न सजिलो हुने र परीक्षालाई मर्यादित एवं सहज बनाउन विद्यालयमै पुगेर अनगुमन गरिएको अध्यक्ष यादवले बताए । ‘गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको छ’, विधार्थी र अभिभावकहरुलाई आग्रह गर्दै उनले भने, ‘यदि कुनै विधालयमा केही कमीकमजोरी छ भने हामीलाई जानकारी गराउनुस् ।’ 

कक्षा ८ को परीक्षा विद्यार्थीहरुको पहिलो बोर्ड परीक्षा जस्तो भएकोले नआत्तिकन परीक्षा दिन उपाध्यक्ष चौधरीले विद्यार्थीहरुलाई सुझाव दिइन् । अनुगमन समिति संयोजक समेत रहेकी चौधरीले कुनै पनि विद्यालयमा गराइने अध्यापनमा कुनै किसिमको ढिलासुस्ती सह्य नहुने बताइन् । 

परीक्षा रहेसम्म र शिक्षाको गुणस्तरको बिषयमा आगामी दिनमा अन्य विद्यालयमा पनि निरीक्षण तथा अनुगमन गरिने गाउँपालिका अध्यक्ष यादवले बताए । अनुगमनमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरि पोखरेल, वडा नम्बर ३ का वडाअध्यक्ष प्रकाश सिंह चौधरी लगायतको सहभागीता रहेको थियो ।