
शुक्रवार , चैत्र ३, २०७९
बुटवल, ३ चैत ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ८ ले वडाभित्रका १० जना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गरेको छ।
शुक्रबार वडा कार्यालय सुख्खानगरमा एक कार्यक्रमको आयोजना गर्दै वडामा सक्रिय १० जना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गरिएको हो ।
जनस्तरमा स्वास्थ्य सचेतनाको मुख्य बाहकको रूपमा भूमिका निर्वाह गरेको भन्दै महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई वडाअध्यक्ष यज्ञ प्रसाद पंगेनी, वडा सदस्यहरू तुल बहादुर थापा, सबिता बिक, हरिहर ज्ञवाली लगायतले सम्मान गरेका हुन् ।
सम्मान कार्यक्रममा बोल्दै वडाअध्यक्ष पंगेनीले महिला स्वास्थ्य स्वयंसेविकाहरूको कारणले वडाको स्वास्थ्य सुधार भएको बताउँदै पहिलो प्रयासस्वरूप सम्मान गरिएको बताए । उनले स्वास्थ्य स्वयंसेविकाहरूको लागि आगामी दिनमा सम्मानलाई निरन्तरता दिने बताउँदै नयाँ प्रयास गर्ने बताए । वडा तहमा अहिलेसम्म भएका कामहरूको बारेमा बताउँदै वडाअध्यक्ष पंगेनीले अर्को वर्ष ल्याउने योजनाहरूको बारेमा बताए ।
कार्यक्रममा बोल्दै वडा सदस्य सबिता विकले अन्य वडाहरूले जस्तै यो वडाले पनि स्वास्थ्य स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्ने बताउँदै आगामी वर्षमा पनि अन्य प्रोत्साहनमूलक कामहरू गर्दै जाने प्रतिबद्धता व्यक्त गरिन् ।
स्वास्थ्य स्वयंसेविका वडा संयोजक उमा देवी न्यौपानेले समाजसेवाको भावले काम गरिरहेको बताउँदै वडाले गरेको यो प्रोत्साहनले काम गर्न उत्साह थपेको बताइन् । उनले आगामी दिनमा पनि प्रोत्साहनमूलक कामहरू गर्न आग्रह गरिन् ।
स्वास्थ्य स्वयंसेविका माया गौतमले पछिल्लो समय सरकारले केही प्रोत्साहनको काम गरेको भए पनि अझै पर्याप्त नभएको बताउँदै यसमा ध्यान दिन आग्रह गरिन् ।
कार्यक्रममा उमा देवी न्यौपाने, माया गौतम, सरस्वती घिमिरे, रुक्मिणी भट्टराई, शिला घिमिरे, विनिता भट्टराई, सरस्वती ज्ञवाली, भागीरथी न्यौपाने, मेनुका पुरी गिरी र शिला पौडेललाई ब्याग र छातासहित सम्मान गरिएको वडा सचिव सुन्दरी आचार्यले जानकारी दिइन् । वडाअध्यक्ष पंगेनीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा सहायक मीना आचार्यले गरेकी थिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij