
शुक्रवार , चैत्र ३, २०७९
भैरहवा, ३ चैत ।
रुपन्देहीको रोहिणी गाउँपालिकामा महिला स्वास्थ्य स्वयंसेविकाका लागि पाँचदिने तालिम सुरु भएको छ । प्रतिमान–नीमा स्मृति प्रतिष्ठान भैरहवा, रुपन्देहीको आयोजना तथा अमेरिकन नेपाल मेडिकल फाउण्डेशनको सहयोगमा महिला सामुदायिक स्वास्थ्य तथा रोग निगरानीसम्बन्धि तालिम बिहीबारदेखि रोहिणी-३ स्थित धककईमा सुरु भएको हो । तालिममा ४० जना महिला स्वास्थ्य स्वयंसेविकाको सहभागीता रहेको प्रतिमान–नीमा स्मृति प्रतिष्ठानका निर्देशक धर्म बहादुर के.सी.ले जानकारी दिए ।
महिला स्वास्थ्य स्वंसेविकालाई सामुदायिक स्वास्थ्य, स्वासप्रस्वाससम्बन्धि जानकारी तथा जनचेतना, खानेपानी, सरसफाई, स्वच्छतासम्बन्धी जानकारी दिने उद्देश्यले तालिम (प्रशिक्षण)को आयोजना गरिएको प्रतिमान–नीमा स्मृति प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले बताइन् । उनले वायू प्रदुषणका कारण विभिन्न रोग फैलिने भएकाले तालिममा यसबारे पनि जानकारी दिइने बताइन् । कार्यकारी निर्देशक थापाले महिला स्वास्थ्य स्वयंसेविककाको महत्वपूर्ण भूमिका रहने भएकाले तालिम आयोजना गरिएको बताइन् । रोहिणीपछि सिद्धार्थनगर र देवदह नगरपालिकामा तालिमको आयोजना गरिने उनले जानकारी दिइन् । कोरोना महामारीको बेला प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले विभिन्न तालिमको आयोजना गरेको उनले जानकारी दिइन् । त्यस्तै प्रतिष्ठानले विभिन्न अस्पताल तथा स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामग्री उपलब्ध गराएको उनले बताइन् ।
तालिमको उद्घाटन गर्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले कोभिडको समयमा प्रतिमान–नीमा स्मृति प्रष्ठिानले उल्लेखनीय कार्य गरेको भन्दै प्रशंसा गरे । उनले आगामी दिनमा पनि प्रतिष्ठानसँग गाउँपालिकाले सहकार्य गर्ने बताए ।
गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्री, स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकाललगायतले बोल्दै प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले स्वास्थ्य क्षेत्रमा राम्रो काम गरेको बताए ।
प्रतिमान–नीमा स्मृति प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाको अध्यक्षता, रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको प्रमुख आतिथ्यता, गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ति हरिजन, प्रवक्ता वीर बहादुर क्षेत्री, स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सहायक महामन्त्री ताहिर अली लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन प्रतिमान–नीमा स्मृति प्रतिष्ठानका कार्यक्रम संयोजक ऋषिराम पौडेलले गरेका थिए ।
तालिममा स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकाल, पब्लिक हेल्थ नर्स अधिकृत कालिका भण्डारी, स्टाफ नर्स गरिमा आत्रेय, रोहिणी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राम नेवास प्रसाद चौधरी र स्वास्थ्य संयोजक रेनुका पाण्डेले सहजीकरण गर्ने आयोजकले जनाएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij