२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

सिद्धार्थनगर सिटी अस्पतालमा अत्याधुनिक ल्याब सेवासँगै एडभान्स हेल्थ प्याकेज

बिहिवार , चैत्र २, २०७९

भैरहवा, २ चैत ।
सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि. भैरहवा, रुपन्देहीले अत्याधुनिक ल्याब सेवा विस्तार गरेको छ । अत्याधुनिक र गुणस्तरीय तरिकाबाट सबै ल्याब परीक्षण सिटी हस्पिटलमै गर्ने व्यवस्था गरिएको अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए । विगतमा सबै किसिमका ल्याब परीक्षण सुविधा नहुँदा काठमाडौं तथा भारतका विभिन्न शहरमा धाउनुपर्ने बाध्यता रहेकोले यसलाई मध्यनजर गरी अस्पतालमै उक्त व्यवस्था गरिएको पौडेलले बताए ।

उनले भने, ‘हस्पिटलले विगतमा विभिन्न किसिमका हर्मोनल जाँचहरु काठमाडौं तथा भारतका विभिन्न ठाउँमा पठाएर परीक्षण गर्ने गरेको थियो, जसले गर्दा समय धेरै लाग्ने गरेको थियो । अब हामीले अत्याधुनिक ल्याब उपकरण जडान गरी सम्पूर्ण जाँचहरु आफ्नै ल्याबबाट गर्न थालेका छौं ।’ पौडेलकाअनुसार हस्पिटलमा जडान गरिएको ल्याब मेसिनबाट १ घण्टामा १ सय ५० देखि २ सय जनाको स्याम्पल जाँच गर्न सकिन्छ ।

उनले भने, ‘ल्याबको क्षमता राम्रो भएकाले एकैपटक धेरै जाँच गर्न सकिने भएको हो । स्याम्पल ल्याएको एक घण्टाभित्रै रिपोर्टसमेत उपलब्ध गराउन सक्ने गरी अत्याधुनिक ल्याव सेवा विस्तार गरेका छौं ।’ यहाँ रहेको ल्याबमा होलबडी जाँचका लागि भारत तथा रुपन्देही बाहिर जानुपर्छ मान्यतालाई तोड्ने अस्पतालको विश्वास छ ।

पौडेलले भने, ‘मानव शरीरमा हुने जुनसुकै शारीरिक स्वास्थ्य समस्याहरु समयमा नै पत्ता लगाई बचाउ गर्न सकेमा दीर्घ रोग लाग्नबाट बच्न सकिन्छ र त्यसबाट हुन सक्ने अप्ठ्यारोलाई न्यूनीकरण गर्न सकिन्छ । त्यसैले मानव शरीरमा आउने परिवर्तन तथा स्वास्थ्य समस्या समयमै पत्ता लगाई स्वस्थ जीवनयापन गर्नका लागि यस हस्पिटलले सञ्चालन गरेको होलबडी प्याकेजले सहयोग गर्नेछ भन्ने हाम्रो विश्वास छ ।’

मानिसको शारीरिक जाँच तथा विभिन्न डाईनोस्टिक इन्भेष्टिगेसन मार्फत स्वास्थ्य अवस्था कस्तो छ भनेर जाँच गर्ने प्रक्रियालाई स्वास्थ्य परीक्षण भनिन्छ । पूर्ण रुपमा स्वस्थ रहेका व्यक्तिहरुले पनि स्वस्थ जीवनयापन गर्नका लागि यो जाँच आवश्यक हुन्छ । पौडेलले भने, ‘स्वास्थ्य परीक्षण तथा होलबडी जाँचमा गरिएका परीक्षणको अहिले नतिजा सामान्य आएको छ भने पनि डाक्टरको सल्लाह बमोजिम ६ महिना देखि १ वर्षभित्र नियमित जाँच गराउनुका साथै स्वस्थ जीवनयापनमा ध्यान दिनुपर्दछ । स्वास्थ्य जाँचले समस्यालाई तत्काल पत्ता लगाई त्यसको निर्मूलीकरणमा सहयोग गर्दछ ।’

चिकित्सकहरुकाअनुसार धुम्रपान तथा मध्यपान गर्ने व्यक्ति, मोटोपन भएका व्यक्तिहरु, मधुमेह, उच्च रक्तचाप भएका व्यक्ति, परिवारमा वंशाणुगत दिर्घरोग भएका व्यक्ति, नियमित औषधि सेवन गर्ने व्यक्तिले स्वास्थ्य परीक्षण र बेलाबेला होलबडी जाँच गर्नुपर्छ । सिटी अस्पतालले विगत लामो समयदेखि सञ्चालन गर्दै आइरहेको होलबडी जाँच कार्यक्रमलाई पनि ल्याब सेवा विस्तारसँगै सहज भएको जनाएको छ । हस्पिटलले होलबडी चेकजाँचअन्तर्गत एडभान्स हेल्थ प्याकेज कार्यक्रम पनि सञ्चालन गरेको छ ।

होलबडी जाँचअन्तर्गत आधारभूत तथा एडभान्स जाँचहरु समावेश गरिएको छ । ती जाँँचहरुलाई छुट्टाछुट्टै गर्दा प्याकेजमा भन्दा महंगो पर्ने भएकाले नियमित रुपमा भइरहेको होलबडी परीक्षणलाई विस्तार गर्दै एडभान्स हेल्थ प्याकेज सञ्चालन गरेको छ । उक्त प्याकेजअन्तर्गतका जाँचहरु छुट्टाछुट्टै गर्दा रु. १३ हजार पर्नेमा प्याकेजअन्तर्गत भारी छुटका साथ जम्मा रु. ९ हजारमा संचालन गर्ने गरेको हस्पिटलले जानकारी दिएको छ ।

यसअन्तर्गत सीबीसी, आरबीसी, एलएफटी, एक्सरे चेष्ट, टीएसएच, आरएफटी, डिपिड प्रोफाइल, इसीजी, पेटको युएसजी, युरिन, एचबीएवानसी, भिटामिन बी–१२, भिटामिन डी–३, क्याल्सियम, एकपटकका लागि चिकित्सकको परामर्श रहेको अस्पतालले जनाएको छ । पौडेलले भने, ‘यी सम्पूर्ण जाँचहरुले थाईराइड, सुगर, कोलेस्ट्रोल, किड्नी, पिसाब, छातीमा भएका समस्या, मुटुमा, पेटमा भएका समस्या तथा शरीरमा भिटामिन, क्याल्सियमको मात्रा पत्ता लगाउन सहयोग गर्नुका साथै डाक्टरसँग जाँच तथा परामर्श हुनेछ ।’

गत वर्षदेखि सुरु गरिएको स्वास्थ्य परीक्षणमा लगभग ६ सय जनाले सेवा लिइसकेको हस्पिटलले जनाएको छ । ‘सेवा लिइसकेकामध्ये हाम्रो अनुभवमा गत साल तथा केही समय अगाडि स्वास्थ्य परीक्षण गर्नुभएका धेरै बिरामीहरुमा लुकेर रहेका स्वास्थ्य समस्या पत्ता लागिरहेका छन् । यसरी पत्ता लाग्ने समस्याहरुमध्ये सबैभन्दा बढी पित्तथैलीको पत्थरी, मृगौलाको पत्थरी, ब्लडप्रेसर, सुगर, थाईराइड, ओभरियन सिस्ट, फाइब्रोइड युटेरस, क्यान्सर जस्ता थुप्रै स्वास्थ्य समस्या रहेका छन् । यसरी पहिचान भएका समस्याको शिघ्र उपचार भइरहेको छ, ’उनले भने ।

हस्पिटलले दिने सम्पूर्ण सेवाहरु एउटै छानामुनी रहेकाले बिरामीलाई उपचारमा केही समस्या नहुने जनाएको छ । यसका साथै अत्याधुनिक ल्याब, हाई फिरक्वन्सी डिजिटल एक्स–रे, भिडियो एक्स–रे तथा ६४ स्लाइस सिटीस्क्यान पनि रहेकाले स्वास्थ्य परीक्षण प्याकेज अन्तर्गत उपचार गरिसकेपछि सम्पूर्ण रिपोर्टहरु डाक्टरले हेरी परामर्श दिने गरेका छन् ।

२०६७ भदौ महिनामा १५ शय्याबाट स्वीकृति लिइ सेवा शुभारम्भ गरेको यस हस्पिटल हाल १ सय शय्यामा स्तरवृद्धि हुँदै आफ्नै भवनमा सेवा सञ्चालन गर्दै आएको छ । १२ वर्षको निरन्तर प्रयासले यहाँसम्म आइपुगेको यो हस्पिटलले यस क्षेत्रका बासिन्दालाई लक्षित गरी छिटोछरितो सेवासुविधा लिनका लागि काठमाण्डौ तथा भारत जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै अत्याधुनिक ल्याबमा विश्वसनीय तथा उच्च गुणस्तरीय मेसिन औजार तथा दक्ष अनुभवी कर्मचारीसहित सेवा दिइरहेको छ ।

उच्चस्तरीय मापदण्डसहित सञ्चालित हस्पिटलले हाल अत्याधुनिक ल्याब उपकरणसहित छिटोछरितो सेवासुविधा उपलब्ध गराउने उद्देश्यले सम्पूर्ण किसिमका ल्याब जाँचहरु एउटै छानामुनी गर्न सक्ने उच्च श्रेणीको ल्याब व्यवस्थासहित सेवा सञ्चालन गरेको हस्पिटलका प्रबन्ध निर्देशक पौडेलले जानकारी दिए ।