२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस प्रचार प्रसार कार्यालय उद्घाटन

मंगलवार , फाल्गुण ३०, २०७९

भैरहवा, ३० फागुन ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भैरहवा बहुमुखी क्याम्पसको प्रचार प्रसार कार्यालय उद्घाटन गरिएको छ । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई मध्यनजर गर्दै मंगलबार शान्तिनगरमा प्रचार प्रसार कार्यालय उद्घाटन गरिएको अनेरास्ववियुले जनाएको छ ।

प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथि नेकपा एमाले रुपन्देही जिल्ला उपसचिव तथा प्रचार विभाग प्रमुख हितराज पन्थीले अनेरास्ववियुले विद्यार्थीको हकहितमा निरन्तर काम गर्दै आएको बताए । उनले अन्य संगठन र अनेरास्ववियुबीच धेरै फरक रहेको बताए । उनले भने, ‘सबै विद्यार्थीको नेतृत्व अनेरास्ववियुले गर्नेछ । ’ नेता पन्थीले धेरै वर्षदेखि स्ववियु निर्वाचन हुन नसकेकाले यसपटक विद्यार्थीहरुले अनेरास्ववियुलाई जिताउने अवसर पाएको बताए । उनले एमालेको भातृ संगठन अनेरास्ववियु अब्बल संगठन भएको बताए । उनले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनमा अनेरास्ववियुले जित्ने दावी गरे ।

एमाले रुपन्देही जिल्ला सदस्य केशव चौधरीले विजयी प्राप्त गर्न अथक प्रयास गर्नुपर्नेमा जोड दिए । उनले विद्यार्थीको हकहितका लागि काम गर्ने अनेरास्ववियुलाई नै विद्यार्थीले जिताउने बताए ।

नेकपा एमाले सिद्धार्थनगर कमिटीका अध्यक्ष तथा भैरहवा बहुमुखी क्याम्पसका पूर्व स्ववियु सचिव चक्र बहादुर थापाले अनेरास्ववियुको माग बमोजिम नै स्ववियु निर्वाचन हुन लागेको बताए । उनले विगतमा पनि अनेरास्ववियुले जितेपछि भैरहवा बहुमुखी क्याम्पसमा धेरै काम भएकाले यसपटक पनि जिताउनुपर्नेमा जोड दिए । उनले भने, ‘देशव्यापी रुपमा अनेरास्ववियुले स्ववियु निर्वाचन जित्दैछ ।’

अनेरास्ववियु पूर्व केन्द्रीय सचिवालय सदस्य लक्ष्मी केसीले अनेरास्ववियुले विद्यार्थीको पक्षमा निरन्तर काम गर्दै आएको बताइन् । उनले निर्वाचनको बेला मात्र नभइ अनेरास्ववियु निरन्तर विद्यार्थीहरुको समस्या समाधानका लागि अघि बढेको बताइन् ।

अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य तथा स्ववियु निर्वाचन परिचालन समितिका संयोजक सरोज ठकुरीले अनेरास्ववियु निरन्तर विद्यार्थीहरुको पक्षमा काम गर्दै आएको संगठन भएको बताए । उनले भने, ‘सम्पूर्ण विद्यार्थीको समस्या समाधानका निम्ति लागिपरेका छौं । ’ उनले अनेरास्ववियुको शक्ति देखेर भ्रम फैलाउन खोजिए पनि अनेरास्ववियु विद्यार्थीको रोजाइमा परेको बताए ।

अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस स्ववियु सभापतिका उम्मेदवार सागर न्यौपानेले विद्यार्थीको हकहितका लागि अघि बढेको बताए । उनले विगतमा चर्को शुल्कविरुद्ध अनेरास्ववियुले आन्दोलन गरेको बताए । उनले भने, ‘भैरहवा बहुमुखी क्याम्पसमा ई–लाइब्रेरी र विद्यार्थीहरुको लागि बसको व्यवस्था गराउन माग गर्दै आएका छौं ।’

अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस इकाई कमिटीका सचिव तथा स्ववियु सदस्य पदका उम्मेदवार आशिष पन्तको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

335056664_215347514375235_5084343487950548194_n.jpg

अनेरास्ववियुबाट सागर न्यौपानेले भैरहवा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा उम्मेदवारी दिएका छन् । उनी अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस इकाई कमिटीका अध्यक्ष हुन् । अनेरास्ववियुबाट सचिवमा शनि कलवार र कोषाध्यक्षमा मनोज पन्तले उम्मेदवारी दिएका छन् ।
त्यस्तै सदस्यहरुमा आशिष पन्त, स्वेता कुमारी हरिजन, राजन गुप्ता, शैलेस यादव, मनोज कुमार यादव, प्रेम शंकर यादव, सुमन कुमारी शुक्ला र मोहित चौधरीले उम्मेदवारी दिएका छन् ।