
सोमवार , फाल्गुण २९, २०७९
भैरहवा, २९ फागुन ।
नेपाल शिक्षक संघ मर्चवारी गाउँपालिका, रुपन्देहीले शिक्षक सेवा आयोगले लिएको विज्ञापन अनुसार हाल प्राथमिक तह तृतीय श्रेणीमा रुपन्देही जिल्लामा कार्यरत अस्थायी शिक्षकहरु जागिरबाट विस्थापित हुने अवस्था सिर्जना भएकोप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । संघले आइतबार मर्चवारी गाउँपालिकालाई ज्ञापनपत्र बुझाउँदै मर्चवारी गाउँपालिकामा कार्यरत अस्थायी शिक्षकहरु विस्थापित नगर्न आग्रह गरेको हो ।
संघले नयाँ शिक्षकहरुलाई नियुक्ति दिइ पदस्थापन गर्दा जिल्लाभित्र हाल कायम रहेको रिक्त दरबन्दीमा नियुक्तिका लागि आवश्यक व्यवस्था मिलाइदिनुहुन शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीलाई अनुरोध गर्न माग गरेको छ । त्यस्तै नियुक्ति लिइ आएका नयाँ शिक्षकहरुलाई पदस्थापन गर्दा गाउँपालिकाभित्र हाल कायम रहेको रिक्त दरबन्दीमा मात्र पदस्थापन गर्न ज्ञापनपत्रमार्फत माग गरिएको नेपाल शिक्षक संघ मर्चवारी गाउँपालिकाका अध्यक्ष प्रमोद यादवले बताए । रिक्त दरबन्दीमा सबै शिक्षकहरुलाई पदस्थापन गरिसकेपछि कनिष्ठताका आधारमा करार शिक्षक रहेको ठाउँमा पदस्थापन गरी जेष्ठ शिक्षकहरु विस्थपित हुने अवस्था सिर्जना नगर्न माग गरिएको यादवले जानकारी दिए ।
त्यसै गरी कारणवश कुनै शिक्षक विस्थापित भएमा ती शिक्षकलाई पदस्थापन गर्न सम्बन्धित निकायहरुमा पहल गर्ने गरी व्यवस्था मिलाउनुपर्ने संघको माग छ ।
लामो समयसम्म शिक्षण पेशामा कार्यरत शिक्षक यसरी विस्थापित हुनु आफैमा दुःखद एवं गम्भिर घटना भएको शिक्षक संघ मर्चवारी गाउँपालिकाका सचिव केशव उपाध्यायले बताए ।
ज्ञापनपत्र बुझेपछि गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले नेपाल शिक्षक संघको मागप्रति गाउँपालिका सकारात्मक रहेको बताउनुभएको उपाध्यायले जानकारी दिए ।
ज्ञापनपत्र बुझाउन नेपाल शिक्षक संघ मर्चवारी गाउँपालिकाका अध्यक्ष प्रमोद यादव, सचिव केशव उपाध्याय, रामप्रसाद हरिजन, श्याम नारायण यादव, अनिल यादव लगायत मर्चवारी गाउँपालिकाको कार्यालय पुगेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij