
आइतवार , फाल्गुण २८, २०७९
भैरहवा, २८ फागुन ।
आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा भैरहवा बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)बाट सभापतिमा सागर न्यौपानेको उम्मेदवारी परेको छ । अनेरास्ववियुको तर्फबाट न्यौपानेले शनिबार स्ववियु सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । उनी अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस इकाई कमिटीका अध्यक्ष हुन् । अनेरास्ववियुबाट सचिवमा सनि कलवार र कोषाध्यक्षमा मनोज पन्तले उम्मेदवारी दिएका छन् ।
त्यस्तै सदस्यहरुमा आशिष पन्त, स्वेता कुमारी हरिजन, राजन गुप्ता, शैलेस यादव, मनोज कुमार यादव, प्रेम शंकर यादव, सुमन कुमारी शुक्ला र मोहित चौधरीले उम्मेदवारी दिएका छन् । सदस्यमा उम्मेदवारी दिएकी स्वेता कुमारी हरिजन २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा २१ वर्षको उमेरमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ बाट एमालेकोतर्फबाट वडा सदस्यमा उम्मेदवारी दिएकी थिइन् ।
उम्मेदवारी दर्तापछि न्यौपानेले भने, ‘स्ववियु आफैमा आन्दोलन हो । आफैमा अभियान हो र आफैमा इतिहास हो । ’ क्याम्पसको स्तरउन्नति, शैक्षिक रुपान्तरण, विद्यार्थी आन्दोलनको रक्षा र क्याम्पसभित्र हुने अनेकखाले विकृति विसंगतिको अन्त्यको निम्ति स्ववियु निर्वाचनमा अनेरास्ववियुलाई जिताउनुपर्ने बताए ।
भैरहवा बहुमुखी क्याम्पसमा अनेरास्ववियुले एकल उम्मेदवारी दिएको संगठनका पूर्व केन्द्रीय सदस्य तथा सिद्धार्थनगर विद्यार्थी इञ्चार्ज सरोज ठकुरीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij