२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

‘लायन्स क्लब र सिद्धार्थ उवा संघबीच हातेमालो आवश्यक’

शुक्रवार , फाल्गुण २६, २०७९

भैरहवा, २६ फागुन ।
लायन्स क्लब र सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीबीच आपसी समझदारी र हातेमालो आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । उनीहरुले लायन्स क्लब र संघ पर्यायवाची जस्तै भएकाले एकआपसमा हातेमालो गरेर अघि बढ्नुपर्ने बताए ।

लायन्स क्लब अफ सिद्धार्थनगरले बिहीबार भैरहवामा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६४ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई बधाई तथा सम्मान कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का संस्थापक गभर्नर पीएमजेएफ नवराज न्यौपानेले परिवारको भावना बुझ्ने व्यक्ति सफल हुने बताए । उनले भने, ‘धैर्य गर्ने क्षमता हुनुपर्छ । ’ लायन्स क्लब विपदमा पुग्ने गरेको बताए । न्यौपानेले भैरहवास्थित भीम अस्पतालमा लायन्स क्लबले भिडियो एक्स–रे र ई.सी.जी. मेशिन उपलब्ध गराएको जानकारी दिए । उनले लायन्सले सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीसँग सहकार्य गर्दै अघि बढ्ने बताए ।

लायन्स पाष्ट डिष्ट्रिक गभर्नर अरुण प्रताप राणाले निजी क्षेत्रले सामाजिक क्षेत्रमा काम गर्नुपर्ने बताए । उनले पछिल्लो समय चोरीका घटना बढेकाले उद्योगी व्यवसायी तथा नागरिकका लागि सुरक्षा आवश्यक रहेको बताए । उनले भने, ‘निश्चित रुपमा सिद्धार्थ उद्योग वाणिज्य संघको नयाँ नेतृत्व राम्रो कार्य गरेर अघि बढ्नुहुनेछ । सही मुद्दाको लागि लड्नुहोस् । गलत कार्यलाई प्रश्रय नदिनुहोस् ।’

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले लायन्सले गरेका राम्रा कामहरु सर्वत्र चर्चामा रहेको बताए । उनले लायन्सले गरेको सम्माले जिम्मेवारी थपिएको बताए । उनले भने, ‘निजी क्षेत्र तहसनहस भए सामाजिक सेवा पनि केही अवरुद्ध हुन्छ । ’ सामाजिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने व्यक्तिहरु संघको नेतृत्वमा पुग्नुभएको उनको भनाइ छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका नवनिर्वाचित अध्यक्ष ठाकुर कुमार श्रेष्ठले उद्योगी व्यवसायी विभिन्न समस्याबाट पीडित भएको बताए । उनले उद्योगी व्यवसायीको समस्या समाधानका लागि संघले पहलकदमी गरेर अबको आन्दोलनमा संघले अगुवाइ गर्ने बताए । उनले भने, हाम्रा कुरा लागू गर्न बाध्य पार्नका निम्ति संघले आन्दोलनको अगुवाइ गर्नेछ । लायन्सको साथ पाउने आशा गर्दछु । ’नवनिर्वाचित अध्यक्ष ठाकुरले संघको निर्वाचनमा सहयोग गर्ने व्यक्तिहरु सदैव आफ्नो मानसपटलमा रहने बताए । उनले लामो इतिहास बोकेको सिद्धार्थ उद्योग वाणिज्य संघको आफ्नै विरासत भएको बताए । उनले भने, ‘विश्वासका साथ हाम्रो टीमलाई निर्वाचित गर्नुभएको छ, इमान्दारीका साथ कर्तव्यनिष्ठ भएर जिम्मेवारी पूरा गर्नेछौं । ’यसका लागि यहाँहरुको साथ र सहयोगको आवश्यकता छ ।

लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष चन्द्र बहादुर थापाले सिद्धार्थ उद्योग वाणिज्य संघ पेशागत हकहितका लागि अघि बढेको संस्था भएको बताए ।

लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष चन्द्र बहादुर थापाको अध्यक्षता, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का संस्थापक गभर्नर पीएमजेएफ नवराज न्यौपानेको प्रमुख आतिथ्यता, लायन्स सिद्धार्थनगरका प्रथम उपाध्यक्ष रवि कुमार श्रेष्ठको स्वागत, कोषाध्यक्ष कुलचन्द्र गौतमको स्वागत तथा सचिव उमेश थापा लाटोमगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरु, नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा, उपाध्यक्ष कुल प्रसाद न्यौपाने र नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाको उपसभापति रुपमा हिराचनलाई सम्मान गरिएको लायन्स सिद्धार्थनगरका सचिव उमेश थापा लाटोमगरले बताए ।