२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

११३ औं अन्तराष्ट्रिय नारी दिवसमा शान्ति समाजद्वारा बुटवलमा प्रदर्शन 

बुधवार , फाल्गुण २४, २०७९

बुटवल, २४ फागुन । 
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलको अमरपथमा प्रदर्शन गरेको छ । कार्यक्रममा महिला अधिकार, मानव अधिकार, व्यवहारमा समानता, अवसरमा समानता लगायतका नाराहरु लेखिएका ब्यानर र प्लेकार्डहरु समेत प्रदर्शन गरिएको थियो  । कार्यक्रममा सहभागीहरुले सामाजिक न्याय र समानताको आन्दोलनमा सदैव क्रियाशिल रहने प्रतिवद्धता व्यक्त गरेका छन् । 

सो अवसरमा बोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सल्लाहकार तथा निवर्तमान सभापति गोविन्द खनालले महिला माथि हुने हिंसा, विभेद, अन्याय र अत्याचार अन्त्यका लागि समाजमा सचेतनाको जरुरी रहेको बताए । संविधान र कानूनमा महिला हिंसा, अन्याय र अत्याचारकाविरुद्ध लिपिबद्ध गरिएका कतिपय अधिकार र हक व्यवहारिक रुपमा कार्यान्यवन हुन नसक्दा श्रमिक महिलाहरुको उचित सम्मान हुन नसकेको भन्दै निवर्तमान सभापति खनालले टिप्पणी समेत गरेका छन् ।  

प्रदर्शन कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव मीना ढकाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियार, तितेपाती बचत तथा ऋण सहकारीका अध्यक्ष कमला बस्नेत कुँवर, शान्ति समाज रुपन्देहीका सभापति खिमप्रसाद भट्टराई (कृष्ण), उपसभापति कपिल ज्ञवाली, सह–सचिव सीता पौडेलले नेपाली समाजमा अझै पनि महिलामाथि विभेद रहेकाले समानताका लागि सरोकारवालाहरु एकजुट हुनुपर्ने आवश्यकता रहेको बताए  ।

सैनामैनामा स्वास्थ्य शिविर सम्पन्न 

नारी दिवसकै अवसरमा महिलाको स्वास्थ्य अधिकार सुनिश्चित गर्न माग गर्दै मानव अधिकार र शान्ति समाजले रुपन्देहीको सैनामैनामा निःशुल्क स्वास्थ्य शिविर समेत सम्पन्न गरेको छ । मानव अधिकार तथा शान्ति समाजको आयोजना एवं बुटवलस्थित साझा हस्पिटल प्रा.लि.को प्राविधिक सहयोगमा सैनामैना नगरपालिका वडा नम्बर ६ झाला कैंयारेटोलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

335089665_2646555518870175_2495865132970785145_n.jpg

शिविरमा १५० जना महिला तथा बालबालिकाले सेवा लिएको र विशेषतः विपन्न तथा दलित महिला तथा बालबालिकाहरुको लागि निःशुल्क स्वास्थ परीक्षण तथा औषधी प्रदान गरिएको शान्ति समाजले जनाएको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा गाउँ बस्तीमै पुगेर विशिष्ट स्वास्थ्य सेवा (भिडियो एक्स–रे, ल्याब परीक्षण, औषधि तथा विशेषज्ञ परामर्श सेवा समेत प्रदान गरी ‘अधिकार अब व्यवहारमा” भन्ने नारालाई व्यवहारमा लागू गरिएको शान्ति समाजका जिल्ला सभापति खिमप्रसाद भट्टराईले बताए । सो अवसरमा सहभागी वक्ताहरुले यस अभियानमा नागरिकको स्वास्थ्य अधिकारलाई प्रत्याभूति गराउन सबैले हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सो कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख फणीन्द्र प्रसाद शर्मा, महिला रोग बिशेषज्ञ डा. प्रदिप कुमार श्रीवास्तव, बाल रोग बिशेषज्ञ डा. अनिल खनाल, डा. सपना बलाल, वडाअध्यक्ष गोपाल पोख्रेल, वडा सदस्यहरु माया विक, गीता घिमिरे, समाजसेवी रणबहादुर खनाल, किरण पौडेल लगायतले महिलाहरुको स्वास्थ्यप्रति सबैले ध्यान पुर्याउनुपर्ने बताए ।

अन्तर्राष्ट्रिय नारी दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने गरिएको हो ।