
बुधवार , फाल्गुण २४, २०७९
बुटवल, २४ फागुन । मार्च ८ अर्थात अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा बुटवलस्थित कान्ति माध्यमिक विद्यालयमा ‘लैंगिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच र विस्तार’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
धेरैजसो विद्यालयले सार्वजनिक बिदा मनाइरहँदा कान्ति माध्यमिक विद्यालय बुटवलले ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आफ्ना विद्यालयका महिला शिक्षक कर्मचारीबीच वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो ।
करिब १ दर्जन शिक्षिका तथा महिला कर्मचारीहरुले भाग लिएको प्रतियोगितामा लक्ष्मी अधिकारी प्रथम, सविना सुवेदी द्वितीय, मीना न्यौपाने तृतीय र दीपा बस्यालले सान्त्वना पुरस्कार हात पार्न सफल भएका छन् ।
बिद्यालयकी शिक्षिका तारा गौतमको सञ्चालन तथा बन्दना ज्ञवालीको स्वागतमा भएको कार्यक्रममा विजेताहरुलाई बुटवल उपमहानगरपालिकाका पूर्व उपप्रमुख गुमादेवी आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमानन्द शर्मा, प्रधानाध्यापक गोविन्द ज्ञवाली, कार्यक्रम संयोजक कमला खनाल लगायतले नगद पुरस्कार, प्रमाणपत्र र शिल्ड प्रदान गरेका थिए ।
साथै कार्यक्रममा सहभागी सम्पूर्ण महिला कर्मचारी तथा शिक्षिकाहरुलाई विद्यालयको तर्फबाट सम्मान गरिएको कार्यक्रम संयोजक कमला खनालको भनाइ छ । पूर्व उपप्रमुख गुमादेवी आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमानन्द शर्मा, प्रधानाध्यापक गोविन्द ज्ञवाली, कार्यक्रम संयोजक कमला खनाल लगायतले नारी दिवसको महत्व र नारीका समस्याहरुका बारेमा चर्चा गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij