
बुधवार , फाल्गुण २४, २०७९
भैरहवा, २४ फागुन ।
महिलालाई नेतृत्व तहमा पुर्याउनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाल–चीन मैत्री समाज लुम्बिनीले बुधबार भैरहवामा आयोजना गरेको कार्यक्रममा सहभागीहरुले महिलाको अधिकार व्यवहारमा लागू हुनुपर्ने बताए ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले महिला नेतृत्व तहमा पुग्नुपर्ने बताइन् । उनले सोच परिवर्तन आवश्यक रहेकोमा जोड दिइन् । उनले भनिन्, महिलाले महिलालाई सम्मान तथा सहयोग गर्नुपर्छ । उपप्रमुख अधिकारीले समाजमा रहेका कुरीतिविरुद्ध आवाज उठाउनुपर्ने बताइन् । उनले दिवस नारामा मात्र सीमित नभइ महिलाको अधिकार व्यवहारमा लागू गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘सोच परिवर्तन आफैबाट सुरु गर्नुपर्छ । महिलाले आफ्नो अधिकार लिन अग्रसर हुनुपर्छ । ’महिलाका लागि आवश्यक तालिमका निम्ति सिद्धार्थनगर नगरपालिका तयार रहेको उनको भनाइ छ ।
त्यस्तै सिद्धार्थनगर नगरपालिकाकी निवर्तमान उपप्रमुख उमा काफ्लेले पुरुष र महिला एक भएर अघि बढ्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘प्रकृतिले हामीलाई श्रमसँग जोडेको छ । महिलाले पनि काम गर्न पाउनुपर्छ । घरमा मात्र सीमित गर्नुहुँदैन । ’विगतमा सिद्धार्थनगर नगरपालिकाले श्रमसँग जोडिएको अपांगता भएका महिलालाई सम्मान गरेको उनले बताइन् ।
कार्यक्रममा नमुना एकीकृत विकास परिषद् रुपन्देहीकी अध्यक्ष सीता भट्टराईले महिलालाई अगाडी ल्याउने वातावरण बनाउनुपर्नेमा जोड दिइन् । उनले अझै पनि ग्रामीण क्षेत्रका महिलालाई पछाडी पारिएको जस्तो अनुभुति भएको बताइन् ।
त्यस्तै संस्कृतिविद् प्रा.डा. गितु गिरी, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीकी नवनिर्वाचित सदस्य रचना क्षेत्री लगायतले बोल्दै महिलाको आवाज अझ बलियो भएको बताए ।
नेपाल–चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायण प्रसाद सापकोटाको अध्यक्षता, सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीको प्रमुख आतिथ्यता, निवर्तमान उपप्रमुख उमा काफ्लेको विशिष्ट आतिथ्यता, समाजकी सह–कोषाध्यक्ष एवं कार्यक्रम संयोजक नारायणी नेपालको स्वागत, वरिष्ठ उपाध्यक्ष गोविन्द प्रसाद रेग्मीको धन्यवाद ज्ञापन तथा महासचिव मनिष कुमार जोशीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
११३ औं अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर नेपाल–चीन मैत्री समाज लुम्बिनीले सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६४ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट कार्यसमिति सदस्यमा निर्वाचित रचना क्षेत्री र मीना पन्थीलाई सम्मान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij