२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

सिद्धी चिल्ड्रेन्स एकेडेमीको ३६ औं वार्षिकउत्सव सम्पन्न 

बुधवार , फाल्गुण १०, २०७९

बुटवल, १० फागुन । 
सिद्धी चिल्ड्रेन्स एकेडेमी इङलिस बोर्डिङ्ग स्कूल, बुटवलको ३६ औं वार्षिक उत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ । समारोहमा सहभागीहरुले वि.सं. २०४३ सालमा बुटवल–८ श्रवणपथमा स्थापना भएको सिद्धी चिल्डे«न्स एकेडेमीले आफ्नो स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षा र राष्ट्रियस्तरमा प्रतिष्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादनमा जोड दिदै आएको बताएका छन् । 

उपमहानगरपालिका–१२ तामनगरस्थित राजपुरमा निर्मित नयाँ भवनको प्रांगणमा आयोजित समारोहको उद्घाटन गर्दै सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशका उपसचिव मनोज गैरेले गुणस्तरीय, व्यवहारिक र सीपमूलक शिक्षाको आवश्यकता रहेको बताए । नेपालमा शैक्षिक संस्थाहरुको विकास तीव्र रुपले भएको उल्लेख गर्दै उपसचिव गैरेले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रतिष्पर्धा गर्न सक्ने एवं स्वदेशमै उत्पादनशील कार्य गर्ने जनशक्ति उत्पादनमा शैक्षिक संस्थाहरुले ध्यान दिनुपर्ने बताए ।

विद्यालयका संस्थापक प्रिन्सिपल राजु गुरुङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रिय सदस्य विष्णुप्रसाद पौडेल, जिल्ला अध्यक्ष पुरुषोत्तम बस्याल, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, सक्रिय टोल विकास संस्थाका अध्यक्ष देवी न्यौपाने लगायतले सिद्धि चिल्डे«न्स एकेडेमीले शिक्षा क्षेत्रको उन्नयनमा पुर्याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा विद्यालयको वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने र सप्ताहव्यापी खेलकुद प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । 

शैक्षिक विकासमा मात्र नभइ समाजिक विकासमा पनि योगदान पुर्याउने उद्देश्यले सो कार्यक्रममा स्थानीय दुईवटा टोल विकास संस्थाहरुलाई सरसफाई सामग्रीहरु हस्तान्तरण गरिएको थियो । समारोहमा विद्यालयका पूर्व विद्यार्थीहरुलाई सम्मान, साँस्कृतिक कार्यक्रम, सन्देशमुलक नाटक र प्रहसनहरु प्रस्तुत गरिएको थियो ।