
सोमवार , फाल्गुण ८, २०७९
तिलोत्तमा, ८ फागुन ।
रुपन्देहीको तिलोत्तमा वडा नम्बर १३ स्थित बभनी भुपु सैनिक आधारभूत विद्यालयको १६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस आइतबार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रतन बहादुर भण्डारीको अध्यक्षता तथा तिलोत्तमा नगरपालिका वडा नम्बर १३ का अध्यक्ष नारायण ढकालको प्रमुख आतिथ्यतामा भएको समारोहमा विद्यालयका प्रधानाध्यापक मनोज केसीले विद्यालयको आर्थिक तथा बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिलोत्तमा–१३ का अध्यक्ष नारायण ढकालले यस विद्यालयले विगतको तुलनामा राम्रो शैक्षिक गुणस्तर कायम गर्न सफल भएको बताए । उनले विद्यालयको भौतिक तथा शैक्षिक बिकासका लागि वडासँगै नगरपालिकाको सहयोग सदैव रहने प्रतिवद्धता व्यक्त गरे । २०६३ सालमा चौतारी र सामान्य भौतिक संरचनासहित स्थापना गरेको सो विद्यालयले हाल १६ वर्षमा पाइला टेकेकोप्रति वडाअध्यक्ष ढकालले प्रगतिको शुभकामना समेत दिएका थिए ।
सो अवसरमा विद्यालयलाई शुभकामना तथा प्रगतिको कामनासहित शैक्षिक गुणस्तर सुधार सहयोग समितिका संयोजक श्यामलाल खरेल, बभनी टोलका अध्यक्ष विष्णु पराजुली, बाउन्नकोटी सामुदायिक वनका अध्यक्ष लिलबहादुर क्षेत्री, सरस्वती आधारभूत विद्यालयका प्रतिनिधि यम बहादुर खड्का, नमूना महिला आवासीय विद्यालयका राधा पौडेल, विमला चौधरी, बाल संजालका अध्यक्ष विवेक खड्का लगायतले बोलेका थिए ।
कार्यक्रममा विद्यालयका उत्कृष्ट छात्रछात्रा, अभिभावक तथा शिक्षक निर्मला चौधरीलाई विद्यालयले सम्मान तथा अभिनन्दन गरेको थियो । कार्यक्रममा विभिन्न अतिरिक्त क्रियाकलापमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्र्थीहरुलाई मेडलसहित पुरस्कारहरुबाट पुरस्कृत गरिएको थियो । सो अवसरमा विविध भेषभुषा झल्किने साँस्कृतिक नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । विद्यालयका शिक्षक रुपा भण्डारीको स्वागत मन्तब्यबाट सुरु भएको वार्षिकोत्सव समारोहको सञ्चालन प्रधानाध्यापक मनोज केसीले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij