
सोमवार , फाल्गुण १, २०७९
भैरहवा, १ फागुन ।
नेकपा एमाले निकट अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३ औं महाधिवेशनमा रुपन्देहीको भैरहवाका सरोज ठकुरीले स्थायी कमिटी सदस्यमा उम्मेदवारी दिने भएका छन् । विद्यार्थीको हकहितमा निरन्तर काम गरिरहेको र आफूलाई स्थायी कमिटी सदस्यमा जानुपर्ने विद्यार्थीहरुको सुझाव रहेकाले उक्त पदमा उम्मेदवारी दिने ठकुरीले बताए । उनले भने, ‘म निरन्तर विद्यार्थीको हकहितमा लागिरहेको छु, शिक्षा क्षेत्रमा सुधार गर्नका लागि मेरो पनि भूमिका होस् भन्ने अठोटका साथ अघि बढेको छु ।’
हाल अनेरास्ववियुको केन्द्रीय सदस्य पदको जिम्मेवारी सम्हालेका नेता ठकुरी विद्यार्थीमाझ परिचित नाम हो। २०६९ सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्य हुँदै विद्यार्थी राजनीतिमा प्रवेश गरेका ठकुरी २०७९ सालमा भैरहवा बहुमुखी क्याम्पस स्नातक तह प्रथम वर्ष संयोजक, २०७१ मा क्याम्पस कमिटी सदस्य, २०७२–२०७३ मा क्याम्पस कमिटी सचिव, २०७३ मा क्याम्पस कमिटी अध्यक्ष र क्षेत्रीय कमिटीको सदस्यको जिम्मेवारी सम्हालेका थिए । उनी २०७३ देखि २०७५ र २०७५ देखि २०७७ सालसम्म अनेरास्ववियु रुपन्देही जिल्ला सदस्य तथा २०७७ देखि हालसम्म केन्द्रीय कमिटीको जिम्मेवारीमा छन् । २०७८ सालमा उनलाई एमाले सिद्धार्थनगर नगर कमिटी विद्यार्थी इञ्चार्जको जिम्मेवारी दिइएको थियो ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा ठकुरी सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ को वडा सदस्यमा निर्वाचित भएका थिए । उनले पाँचवर्षे कार्यकाल जनप्रतिनिधिको रुपमा जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
मंगलबार (भोलि) देखि काठमाडौंमा अनेरास्ववियुको २३ औं महाधिवेशन सुरु हुँदैछ । फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनको तयारी पूरा भएको अनेरास्ववियुले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij