
आइतवार , माघ २९, २०७९
बुटवल, २९ माघ ।
खानेपानीको समस्या समाधान दीर्घकालिन रुपमा गर्न समाधान गर्नुपर्ने एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन् । सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको ११ औ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनको लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले उद्घाटन गर्दै विकासका लागि सकारात्मक सोच जरुरी रहेको बनाए । सुकुम्बासी, कोरिडोरको समस्या, आर्थिक राजधानी निर्माण गर्ने जस्ता धेरै चुनौतिहरु रहेको भन्दै यसको लागि तीन तहकै सरकार लाग्ने उनले बताए ।
कार्यक्रममा संस्थाको परिचय बोकेको स्मारिका समेत प्रकाशन गरिएको छ । त्यसै गरी टोलका जेष्ठ नागरिक खेम बहादुर टोमाटो र नारायणी वि.क.लाई दोसल्लाबाट सम्मान गरिएको थियो । त्यसै गरी तिलोत्तमा माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विनोद दमाई र उजिरसिंह मावि कक्षा ४ का अध्ययनरत विकास विकलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष बिरमान लामाले समुदायमा शुद्ध खानेपानी पुर्याउने अभियानमा आफूहरु सफल भएको बताए । उपभोक्ताहरुलाई साप्ताहिक सरसफाइ र सचेतनामा सहभागी गराई कार्यक्रम गर्दै आएको र ओभरहेड टंकी निर्माणमा पहल गरेको उनले बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले दुई मोडलमा खानेपानी वितरण भइरहेको बताए । समिति र खानेपानी संस्थानमार्फत वितरण भइरहेको उनले बताए । नगरको खानेपानीलाई व्यवस्थापन गर्न जलश्रोत सम्बन्धि ऐन पालिकाले तयार गरेको उनले बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा अर्याल, बुटवल वडा नम्बर ६ का वडाअध्यक्ष लोकनाथ न्यौपाने, बुटवल उद्योग वाणिज्य संघका महासचिव विमल भट्टराई, गौतमबुद्घ मुटु अस्पतालका अध्यक्ष एजाज आलम, वडा नम्बर ६ वडा सदस्य चीन बहादुर श्रेष्ठ, वडा नं ६ का निवर्तमान अध्यक्ष जगदिशचन्द्र आचार्य, निर्वाचन समितिका संयोजक बलराम न्यौपाने, सुन्दर शान्ति टोल विकास संस्थाका अध्यक्ष पुर्ण बहादुर विक, युनाईटेड मिसन टु नेपालका चेलि गुरुङ, संस्थाका सह–सचिव ध्रुवराज खनालले सुन्दर नगरमा खानेपानी र सरसफाईको विकाससँगै अमूल्य खानेपानीको महत्वलाई बुझाउने गरी कार्यक्रमहरु बनाउन सुझाव दिए । संस्थामा ५ सय ९७ घरधुरीमा धारा जडान भएको छ । त्यसै गरी ४ स्थानमा सार्वजनिक धारा जडान गरी सेवा दिइएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij