२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

मजदूर नेताको गुनासो – ‘मुलुकमा स्थिर सरकार नबन्दा श्रमिकका मुद्दा ओझेलमा’

आइतवार , माघ २९, २०७९

रुपन्देही, २९ माघ । 
श्रमजीवी वर्गहरुको हकहितका लागि सरकारले काम गर्न नसकेको संयुक्त ट्रेड युनियन समन्वय समितिका केन्द्रिय अध्यक्ष विनोद श्रेष्ठले जिकिर गरेका छन् । नेपालको वर्गिय आन्दोलन कमजोर बन्दै जानुको मुख्य जिम्मेवार सरकार नै भएको उनको आरोप छ ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश बुटवलले शनिबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले श्रमिकको नजरबाट हेर्दा सरकार छ कि छैन भनेर सोच्नुपर्ने बताए । श्रमजीवी वर्गको सम्मान र अधिकार स्थापित गर्ने सिंहदरबारको शासक र शासन परिवर्तन फेरिए पनि श्रमिकको अवस्था उस्तै रहेको दावी गरे । उनले देशमा जुनै दलका सरकार बने पनि सत्तामा रहेका बेला शासकहरु सामन्ती बनेको आरोप लगाए ।
 
उनले भने, नेपालमा नीतिगत भ्रष्टाचार मौलाउँदै गएको छ । श्रमिकले पाउने १० प्रतिशत सेवाशुल्क कटौती गरिएकाले थप श्रमिकहरुमा मारमा परेका छन् । उनले मुलुकमा स्थिर सरकार नबन्दा श्रमिकका मुद्दाहरु सधै ओझेलमा परेको बताउँदै सरकारले श्रमिकका अधिकारप्रति ध्यान नदिए कडा रुपमा सडक आन्दोलनमा उत्रिने चेतावनी दिए ।  
 
साक्षात्कारमा नेपाल ट्रेड युनियन महासंघ केन्द्रिय उपाध्यक्ष कमल गौतमले बढ्दै गएको बेथिति र मजदुरका हकअधिकारलाई सरकारले ध्यान नदिए सडकमा उत्रिन बाध्य हुने बताए । उनले सामाजिक सुरक्षाको मुद्दालाई कार्यान्वयन गर्न देशभरी विभिन्न कार्यक्रम र आन्दोलनका तयारी तीव्र पारिएको उल्लेख गरे ।

कार्यक्रम रिपोर्टर्स क्लब नेपालका लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।