
बुधवार , माघ २५, २०७९
भैरहवा । रुपन्देहीको सियारी गाँउपालिका स्थित छपिया स्वास्थ्य चौकीबाट अल्ट्रासाउण्ड (भिडियो एक्सरे) सेवा शुरु भएको छ ।
गर्भवती महिला तथा शिशुको जाँचका लागि ग्रामिण अल्ट्रासाउण्ड सेवा सुचारु गरिएको हो । सियारी गाँउपालिकाको पहलमा लुम्बिनी प्रदेश सरकारले अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराएको हो ।अल्ट्रासाउण्ड सञ्चालनका लागि प्रदेश तालिम केन्द्रले सियारी गाँउपालिकालाई छनौट गरी तालिम दिएको गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्तिले जानकारी दिए ।
अल्ट्रासाउण्ड मेसिनलाई गाँउपालिका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु, प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपानेले सियारी ४ का वडा अध्यक्ष श्रीराम यादवलाई हस्तान्त्रण गरेका थिए ।कार्यक्रममा बोल्दै गाँउपालिका अध्यक्ष थानेश्वर घिमिरेले सियारीका गर्भवती तथा शिशुको स्वास्थ्य अबस्था बुझ्न र स्वस्थ समाज निर्माणका लागि योगदान पु¥याउने बताए ।
उनले अल्ट्रासाउण्डको जडान पछि गर्भवती महिलाहरु भैरहवा, बुटवल लगाएतका शहरमा जानु पर्ने बाध्यता हटेको बताए ।
कार्यक्रममा बोल्दै गाँउपालिका उपाध्यक्ष तारा थारु, प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपानेले ग्रामिण भेगमा सरकारी स्वास्थय चौकीमा जडान गरिएको अल्ट्रासाउण्ड पालिकामै पहिलो भएको बताउदै यसको प्रभावकारी संचालनका लागि आग्रह गरे ।
छपियामा जडान गरिएको उक्त अल्ट्रासाउण्ड सेवालाई घुम्ती सेवाको रुपमा पालिका भित्रका सम्पुर्ण स्वास्थ्य सस्थामा लगेर सेवा सञ्चालन गर्ने स्वास्थ्य निरिक्षक ललिता पुनले जानकारी दिइन ।
सियारीमा ५ बटा स्वास्थ्य चौकी, २ बटा आधारभुत स्वास्थ्य चौकी, एउटा सामुदायिक स्वास्थ्य केन्द्र र एउटा आयुरवेदिक स्वास्थ्य सस्था रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij