२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

रेडक्रस सोसाइटी रुपन्देहीको ४७ औं अधिवेशन लुम्बिनीमा 

मंगलवार , माघ २४, २०७९

भैरहवा, २४ माघ । 
नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाको ४७ औं जिल्ला सभाको अधिवेशन मंगलबारदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा सुरु भएको छ । जिल्ला शाखा रुपन्देहीका अध्यक्ष प्रेमलाल उदासको अध्यक्षतामा भएको समुद्घाटन समारोहमा प्रमुख अतिथि लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमानले कार्यक्रमको उद्घाटन गरेका हुन् । 

सभामा मन्त्रीको प्रतिवेदन आर मोहम्मद खाँले प्रस्तुत गरेका थिए । लेखा समितिको प्रतिवेदन अनिल कुमार कौशलले र कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष रुपमा हिराचनले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उत्कृष्ट कर्मचारी पुरस्कार वरिष्ठ प्राविधिक शान्ता कुंवरले प्राप्त गरेका छन् भने उत्कृष्ट स्वयंसेवक पुरस्कार बेलहिया उपशाखाका माधव शर्माले प्राप्त गरेका छन् । त्यस्तै उत्कृष्ट तृतीय उपशाखा पुरस्कार मणिग्राम उपशाखा, उत्कृष्ट द्वितीय उपशाखा पुरस्कार बुटवल उपशाखाल र उत्कृष्ट प्रथम उपशाखा पुरस्कार रोहिणी उपशाखाले प्राप्त गरेको छ । 

त्यसै गरी महिला सदस्यता अभिवृद्धि प्रोत्साहन पुरस्कार सिद्धार्थ उपशाखा र आजीवन सदस्यता अभिवृद्धि प्रोत्साहन पुरस्कार पनि सोही उपशाखाले नै प्राप्त गरेको छ । वामदेव जोशी स्मृति पुरस्कार ओमसतिया गाउँपालिका–२ का समाजसेवी मंगल भण्डारीले प्राप्त गर्नुभएको कार्यालयका अधिकृत कृष्ण मल्लले जानकारी दिए । 

कार्यक्रममा रेडक्रसका केन्द्रिय तदर्थ समिति अध्यक्ष सुदर्शन प्रसाद नेपाल, केन्द्रिय तर्दथ समितिका सदस्य महेन्द्र कुमार श्रेष्ठ, निर्वाचन अधिकारी दिनेश अर्याल, सिद्धार्थ उपशाखाका अध्यक्ष वसन्त कुमार लाल कर्ण लगायतले बोलेका थिए । 

कार्यक्रममा रेडक्रसको आधारभुत सिद्धान्त मित्रलाल न्यौपानेले वाचन गरेका थिए । रेडक्रस रुपन्देहीका उपसभापति दीपक क्षेत्री न्यौपानेको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सन्चालन मन्त्री आर मोहम्मद खाँले गरेका थिए । दुई दिनसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।