२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

घोडे लात

मंगलवार , माघ २४, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • हामी सानो (नौ वर्ष देखि चौविस पच्चीस उमेर) हुँदा सम्म पहाड र मधेश गर्ने यातायातको साधन घोडा नै थियो । पहाड पाँचथर जिल्लाको मेहेल्वोटे आङ्गसराङ त्यति बेलाको गाउँ पन्चायत, र त्यहींबाट जिल्लाको प्रथम शिक्षको ज्योति हाम्रा अग्रजहरुले बाल्नु भएको हो । मेहेल्वोटे बाट मधेश आउन बुबाहरुको कामत – मौंजा, पश्चिमको भाषामा थियो ।  पहाड र मधेश गर्ने क्रममा बुवा नभएको बेला घोडा चढ्ने मौका पाइन्थ्यो ।

    दमक त्यति बेला २०, २५ वटा घरहरु भएको बुधबार बजार लाग्ने केन्द्रमात्र थियो, रतुवानदी तीरमा रहेको मधुमल्ला त्यति बेलाको मुख्य पहाडे बजारको रुपमा प्रख्यात थियो । पहाडबाट नून, सूर्ति, पसलहरको लागि चाहिने यावत साधनहरुको आपूर्ति गर्ने बजार थियो – मधुमल्ला – मोरङ जिल्ला र झापा सिमाना) ।

    मधुमल्लाबाट पहाड तर्फ जानु पर्दा मावा खोला २१ पल्ट तरेर परुङ्गेको अँध्यारो खोंचमा करीब तीन घन्टा हिडेपछि कुसुन्डे पुगिन्छ –पेरुङ्गे  सकिएपछि उकालो बाटो कुसन्डे, टोढके, रमिते, चिसापानी पन्चमी पाङदुवा, रबी, उत्तरे देउराली हुँदै बल्ल मेहेल्वोटे पुगिन्छ । ऐले मोटर सुविधा सुलभ छ भने घोडाको यात्रा प्रायः समाप्त भएको छ । ठूलो परिवर्तन त आएको छ – तर कुन मूल्यमा ? भन्ने लेखाजोखा भविष्यले अवस्य गर्नेछ ।

    घोडाकै प्रसङ्ग आउँछ । ढुकुरपानीबाट करीब करीब दमक र मधुमल्ला उस्ता उस्तै दुरीमा रहेका छन् । दमक बजार जाँदा ढुकुरपानीबाट हामी घोडा लिएर जान्थ्यौ, साना साना घोडामा धान राखेर  बनियाँहरु बजार जान्थे । गाउँका किसानहरु गोरुगाडामा धान लगेर बजारमा बेच्दथे । त्यो घोडे युग झैँ लाग्छ । घोडा घोडीको पछि लाग्दाको अनुभव त्यो पनि आफु घोडा चढेको बेला के हालत हुन्छ ! यहाँ बयान गरेर साध्य छैन ।

    ऐले नेपाली राजनीतिमा चाहीँ ठ्याक्कै घोडे युग फर्किएको हो कि ? भन्ने लागेर माथिको पृष्ठ भूमी राख्नु परेको हो। हामी तिनजना साथीहरु आ–आफ्नो घोडा चढेर  ढुकुरपानीबाट दमक तर्फ लाग्यौ – बनियाँका घोडा घोडी साना हुन्थे, त्यसमध्ये कुनै घोडि चटारिएको रहेछ । पशुहरुमा एउटा अचम्मको ‘धर्म’ हुने रहेछ कुनै पनि जनावरले विपरित स्त्री लिङ्गी यौन चहाना विपरीत जवरजस्ति गरेको देखिदैन । मानिस त पशुभन्दा पनि निकृष्ट हो कि भन्दा पनि त्यो तीर ठ्याकै नेपाली  नेताहरु तर्फ सोझिन जान्छ ।

    हामी तीन जनाका घोडाहरु त्यो घोडी प्राप्त गर्ने होडमा कहिले अघि कहिले पछि गर्दै दौडिरहन्छन्, ‘लगाम’ घोडाको ‘करेली’ बेसकन तानेर घोडा रोक्ने प्रयास गरें, तर घोडामा यौवन पराकाष्ठामा पुगेको थियो । घोडिमाथि घोडा चढ्न लागेको अवस्था देखेर म डराएँ, बानियाँ चिच्यायो, “अरे ! घोडालाई काबु गर्नु न ! छात्तिमा रौं छैन ?”

    मैले सहज भावमा जवाफ दिएँ, “छैन” । वास्तवमा भन्ने हो भने त्यति बेला मेरो छात्तिमा रौं उम्रिएको थिएन । घोडाको जिन राम्ररी कस्सिएको रहेनछ – घोडा बुल्लुक्क घोडीमाथि उफ्रियो – म भुईंमा पछारिएँ, बानियाँ चिच्यायो । घोडा टक्क रोकियो । पशुहरुले आफ्नो मालिकलाई अत्यन्त माया गर्दछन् । चाँहे जनावर जुनसुकै होस् – उसको कामवेगलाई तिलाञ्जली दिएर घोडा टक्क रोकियो । बानियाँ अघि बड्यो । नेपाली नेताहरुमा जनावर जतिको संवेदनशीलता पनि भएन ।

    घोडालाई जहिले पनि अगाडिबाट मायाँ गर्नुपर्दछ भनेर गाउँमा घोडा पारखीहरु कुरा गर्दथे । घोडाको पछि गयो भने लात हान्छ जसलाई ‘घोडे लात’ भनेर प्रसिद्धि पाएको छ । नेपाली राजनीतिमा घोडे लातको संस्कृती खास गरि वि.सं २०४६ पछि शुरु भएको हो । जसले जे सुकै भनुन् सत्तारुपी घोडी प्राप्त गर्न जहिले पनि कामुक हुने दलहरु कसको ‘घोडे लात’ दरो भन्ने प्रतिष्पर्धा गरेको देख्ता जनावरको अर्को रुप ‘नेता’ हुन् कि भन्ने लाग्दछ ।

    अदालतको फैसला पछि तिलमिलाएका नेताहरु अर्को दललाई घोडे लात हान्न ठिक्क परेका छन् । पाठक वर्गले वीचमा एउटी चटारिएकी घोडी र पाँच सात वटा घोडाहरु विच प्रतिस्पर्धा भएको भान हुन्छ । विचरा घोडी हिनहिनाएकी छ अनुनय विनय गरेकी छ, तर सबै एक्कै चोटी जाइलाग्दछन् ।

    नेपाली राजनीतिमा ‘घोडे लात’ हान्नमा माहिर खेलाडिहरु एक अर्काको दाउ हेरिरहेका छन्, कसले कसलाई कुन बेला ? कुन समयमा ? र कुन मौकामा ‘घोडे लात’ ठोक्ने हुन थाहा छैन । नीरिह कामातुर घोडी वीचमा उभिएकी छ , वरिपरि कामन्ध घोडाहरु एक अर्कालाई ‘लात’ हान्ने मौका हेरिरहेछन् । यी घोडाहरुको चर्तिकला विगत ३० वर्ष देखि हेर्न बाध्य छन् – नेपाली जनताहरु .....!