
बिहिवार , माघ १२, २०७९
भैरहवा, १२ माघ ।
उपप्रधानमन्त्री तथा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री राजेन्द्र लिङ्देनले असाध्यै कष्टकर दिनहरुमा पनि नेपाल हिन्दू राष्ट्र कायमै हुनुपर्छ भनेर आफू उभिएको बताएका छन् । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ४ स्थित डण्डा नदीको किनार (ठूलो बालापुर) स्थित नवदुर्गा मन्दिर क्षेत्रमा मा आयोजित श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा बिहीबार बोल्दै लिङ्देनले भने, ‘गुरु पण्डितहरुले समेत बोल्न नसकेको बेला नेपाल हिन्दू राष्ट्र कायमै हुनुपर्छ भनेर उभिएको मान्छे हुँ । त्यसकारण हिन्दूत्वसँग सम्बन्धित कार्यक्रमहरु जहाँ आयोजना गरिए पनि आफ्नै कार्यक्रम जस्तो लाग्छ । ’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय अध्यक्ष समेत रहेका लिङ्देनले धार्मिक कार्यक्रममा सहभागी हुन पाउँदा आफू आनन्दित भएको बताए । उनले नेपालको ऐतिहासिक जगदगुरु पीठ निर्माण भएपश्चात यो क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउने बताए । उनले भने, ‘नेपालका एक मात्र जगतगुरुको चार वटा क्षेत्र पीठमध्ये ३ स्थानमा भएको र एउटा शुभारम्भ हुन थालेको छ ।’
उनले जगदगुरु पीठ निर्माणका लागि सरकारबाट हुने सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले यो कार्यमा पवित्र मनले सहयोग गर्न अपील गरे । उनले भने, ‘राजनीतिक दलका नेता कार्यकर्ता तथा प्रतिनिधिलाई सक्रिय सहयोग र सहभागीताको लागि अपील गर्दछु । ’
उपप्रधानमन्त्री लिङ्देनले लुम्बिनी क्षेत्र आफैमा धार्मिक पर्यटनको महत्वपूर्ण क्षेत्र भएको र जगदगुरु पीठ निर्माणले धर्म संस्कृतिको संरक्षण र धार्मिक पर्यटनमा समेत टेवा पुर्याउने उल्लेख गरे ।
जगदगुरु मोहनशरण देवाचार्यले माघ ४ गतेदेखि सुरु भएको महायज्ञमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले नेपाललाई हिन्दू राष्ट्र कायम गर्न सबै आ–आफ्नो क्षेत्रबाट अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा सञ्चार क्षेत्रबाट योगदान पुर्याएको भन्दै पत्रकार राधेश्याम विश्वकर्मा, रबिन्द्र प्रताप गुप्ता र मनोज क्षेत्रीलाई सम्मान गरिएको थियो । त्यस्तै महायज्ञमा सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई पनि सम्मान गरिएको थियो ।
सुनसरीको चतराधाममा वि.सं. २०५९ सालमा महाकुम्भ मेला प्रारम्भ गरी धार्मिक, साँस्कृतिक र वेदका आधारमा विश्व माझ नेपालमा कुम्भ मेला स्थापित गराउन सफल महाराजले भैरहवामा जगदगुरु दक्षिणपीठको स्थापना गर्न लागेको महायज्ञ मूल आयोजक समितिका संयोजक विष्णु बहादुर रायमाझीले बताए ।
पुर्वमा चतराधाम बराहक्षेत्रमा प्रथम जगदगुरुपीठ, दोस्रो शारदा पीठ महाकाली, तेस्रो निलाद्री पीठ मुक्तिनाथ क्षेत्र जोमसोम स्थापना भइसकेको र चौथो भैरहवा पीठ स्थापना हुने चरणमा रहेको बताइएको छ । यो पीठ जगदगुरुको अन्तिम पीठ पनि भएको महायज्ञ आयोजक समितिका सदस्य कमल रायमाझीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij