
सोमवार , माघ ९, २०७९
रुपन्देही, ९ माघ ।
राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल लुम्बिनीको प्रथम भेला बुटवलमा सम्पन्न भएको छ । प्रथम भेलाको एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय आयुर्वेद महाशाखा प्रमुख डा. पुष्पराज पौडेलले उदघाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै डा. पौडेलले यस्ता संस्था खोल्नु समाजको लागी राम्रो भएको बताउँदै आयुर्वेदको विकासका लागि पनि महत्वपूर्ण हुने बताए ।
राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपालका केन्द्रिय उपाध्यक्ष शालिकराम भुसालले आयुर्वेदको विकासका लागि राज्यसँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले राज्यले आयुर्वेदको नीति निर्माण गर्दा कुन संस्थासँग सहकार्य गर्ने भन्दा राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपालसँग तरिकाले काम गर्नुपर्ने बताए । भुसालले आयुर्वेदको विकासका लागि सम्पूर्ण आयुर्वेदकर्मी एकजुट भएर लाग्नुको विकल्प नभएको बताए । यो संस्था निर्देशनले नभई नीतिले चल्ने संस्था भएको उपाध्यक्ष भुसालले बताए ।
लुम्बिनी आयुर्वेद चिकित्सालय विकास समितिका सदस्य दुर्गा गौतम आचार्य, राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल नवलपरासी जिल्ला अध्यक्ष दिनबन्धु मिश्र, शिद्ध फर्मुलेशनका सञ्चालक रामचन्द्र पौडेल, स्वास्थ्यकर्मी समाज लुम्बिनी प्रदेशका उपाध्यक्ष धुर्व भण्डारी, राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल रुपन्देही जिल्ला अध्यक्ष दीपक कार्कीको स्वागतमा भएको कार्यक्रमको राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल लुम्बिनी प्रदेशका संयोजक नरहरी अर्यालको अध्यक्षता तथा कमल शर्मा चापागाईको सञ्चालनमा सम्पन्न भएको थियो ।
दुईजना सम्मानित
राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल लुम्बिनीको प्रथम भेलामा दुईजनालाई सम्मान गरिएको छ । सम्मानित हुनेमा स्वास्थ्य समाचार डट कमका चन्द्रकान्त खनाल र शिद्ध फर्मुलेशनका संञ्चालक रामचन्द्र पौडेललाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि डा. पुष्पराज पौडेल, रानका केन्द्रिय उपाध्यक्ष शालिकराम भुसाल र प्रदेश संयोजक नरहरी अर्यालले सम्मान गरेका हुन् ।
राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल लुम्बिनीमा अर्याल
राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल लुम्बिनीको प्रथम भेलाले नरहरी अर्याल (नबिन) को अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरेको छ । त्यस्तै ३ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा दीपक पन्थी, सचिवमा कमल शर्मा, चापागाई, सह–सचिवमा प्रदीप बैठा र कोषाध्यक्षमा रीता ज्ञवाली रहेका छन् ।
त्यसै गरी सदस्यहरुमा भुपेन्द्र डीसी, माधब बस्याल, दीक्षा भण्डारी, जीवन बस्याल, डा. आविष्कार अधिकारी, धर्मराज भण्डारी, कमल आचार्य, डा. गोपाल न्यौपाने, मनोज राय र थानेश्वर न्यौपाने रहेका छन् ।
त्यस्तै वरिष्ठ सल्लाहकारमा चन्द्रकान्त खनाल, प्रकाश ज्ञवाली र डा. सन्तोष गौतमलाई चयन गरिएको प्रदेश अध्यक्ष अर्यालले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij