२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

बुटवलमा २८५९ औं सोनाम ल्होछार मनाइयो 

आइतवार , माघ ८, २०७९

बुटवल, ८ माघ ।
तामाङ नया वर्ष २८५९ औ सोनाम ल्होछारको पर्वको अवसरमा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति, रुपन्देहीले तामाङ भेषभुषा र पहिचानसहितको झाँकी निकालेको छ । सोनाम ल्होसारको अवसरमा आइतबार बुटवलमा पुष्पलाल पार्कमा दिप प्रज्वलन गरी शान्तिपद यात्रा सुरु भएको थियो । पदयात्रा दीपनगरस्थित तामाङको पूजास्थानमा पुगेर शुभकामना आदानप्रदान, साँस्कृतिक कार्यक्रम र भोज आयोजना गरी मनाएका छन । 

कार्यक्रमको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै सबै धर्म र जातीको पहिचान अहिलेको आवश्यकता भएको बताए । तामाङहरुको भेषभुषा, संस्कृति उत्कृष्ट भएको भन्दै उनले नयाँ पुस्तामा यसलाई सिकाउने गरी अभियान थाल्न सुझाव दिए । 

कार्यक्रममा घेदुङका केन्द्रीय सदस्य विरबहादुर लामाले सबै जातीको आ–आफ्नै इतिहास भएको भन्दै त्यसमा पनि तामाङहरु उत्कृष्ट र वैज्ञानिक संस्कृति, रितिरिवाज अपनाउने जातीमा पर्ने दावी गरे । नेपालमा २०१३ सालमा संस्थागत रुपमा देशभर संगठित भएर काम भएको उनले बताए । 

त्यस्तै नेपाल तामाङ घेदुङका लुम्बिनी प्रदेश अध्यक्ष विरमान लामाले रुपन्देहीमा सानो संख्यामा रहेका तामाङहरुबाट जातीय पहिचानसँगै सामाजिक कामहरु गर्दै आएको बताए । मन्जुश्रीले उपत्यका बस्तीलाई बस्न योग्य बनाउँदादेखि नै तामाङ काठमाडौ वरपर बसोबास गर्दै आएको हुँदा पनि उनीहरुको पहिचान भएको उनले बताए । नेपालका ९ वटा जिल्लामा तामाङहरु धेरै संख्यामा बसोबास गर्दै उनीहरुको चिनिएको उनले बताए । तामाङहरुको घरमा झण्डा राखेर पहिचान दिने, भाषा, संस्कृति संरक्षण गर्ने जस्ता कामहरु हुँदै आएको उनले बताए । 

कार्यक्रममा रुपन्देही जिल्ला अध्यक्ष राजेश घिसिङले वि.सं २०५८ सालमा स्थापना भइ तामाङ जातीलाई एकताबद्ध गरी रचनात्मक कार्यक्रम गर्दै आएको दावी गरे । ‘युवा पुस्तालाई तामाङ भाषा लिपि सिकाउने, धर्म संस्कार, भेषभुषा संरक्षणका लागि विविध कार्यक्रमहरु गर्दै आएको छौ ।’– उनले भने । नेपालमा तामाङहरु १ सय ६० भन्दा बढि थरहरु भने ३ प्रकारको भाषा बोल्छन । देशभर र लुम्बिनी प्रदेशमा समेत तामाङहरु छरिएर रहेका छन । रुपन्देहीमा २ हजार ३ सय जनसंख्या रहेको अनुमान गरिन्छ ।